मेलबर्न, अष्ट्रेलिया । मानवसेवा आश्रमको भवन निर्माणसँगै आश्रमकाे संरक्षणमा रहेका बालिकाको पालनपोषण तथा भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले निर्मला पराजुली फाउन्डेसनले आर्थिक सहयाेग प्रदान गरेकाे छ
अष्ट्रेलिया मेलबर्नमा रहँदै आउनुभएका जमुना पराजुली, दुर्गा पराजुली, माधव अधिकारी तथा बद्रि पन्तको सहभागितामा रहेको फाउन्डेसनले मानवसेवा आश्रमको एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ याेगदान गरेकाे हो। यससँगै बद्रि पन्त तथा जमुना पराजुलीले आश्रमकाे संरक्षणमा रहनुभएका एक बालिकाको अभिभावकत्व निर्वाह गर्दै वार्षिक (A$960) सहयोग गर्ने प्रतिबद्धतासहित सहयाेग गर्नुभएको हाे।
भवन निर्माणका लागि गरिएको सहयोग आश्रमको पूर्वाधार विकासमा उपयोग हुनेछ भने बालिकाको अभिभावकत्वका लागि प्रदान गरिएको सहयोगले उनको पालनपोषण तथा शिक्षा–दीक्षामा टेवा पुग्नेछ। यसरी एउटै सहयोगमार्फत आश्रमको पूर्वाधार निर्माण र बालिकाको भविष्य निर्माणलाई जोड्ने प्रयास गरिएको छ।
‘CONNECT AUSTRALIA THROUGH HUMANITY’ अभियानअन्तर्गत मेलवर्नमा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको हो। मानवसेवा आश्रमको मानवीय सेवा अभियानमा जोडिँदै आश्रमको भवन निर्माण तथा बालिकाको अभिभावकत्वका लागि गरिएको यस योगदानले सेवाभाव र मानवताप्रतिको आत्मीयतालाई थप उजागर गरेकाे छ ।
यस अभियानमा तन, मन र धनसहित जोडिँदै गर्नुभएको यस अमूल्य सहयोगप्रति मानवसेवा आश्रमले निर्मला पराजुली फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ।
सेप्टेम्बर १७ देखि अक्टोबर ७ सम्म सञ्चालन हुने अभियानअन्तर्गत यसअघि पर्थ र एडिलेडमा कार्यक्रम सम्पन्न भइसकेका छन्। मेलबर्नपछि होबार्ट, सिड्नी, क्यानबेरा र ब्रिस्बेनमा पनि कार्यक्रमहरू आयोजना हुँदैछन्।