काठमाडौँ । भदाै तेस्राे साता सडकमा बेवारिसे जीवन बिताइरहेका ४५ जनाले मानवसेवा आश्रमको संरक्षण पाएका छन्। आश्रमले देशका विभिन्न स्थानमा घरबारविहीन तथा बेसहारा बनेर सडकमा सडक जीवन बिताइरहेका उनीहरूको उद्धार गरी आवश्यक सेवासहित संरक्षणका प्रदान गरेकाे छ ।
उद्धारसँगै आश्रमले परिवारसँगको सम्बन्ध पुनःस्थापित गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ। सोही अवधिमा स्वास्थ्य लाभ गरेका तथा परिवार पहिचान भई पुनर्मिलन सम्भव भएका १९ जनालाई आश्रमले परिवारसँग पुनर्मिलन गराएको उल्लेख गरेकाे छ ।
सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिको उद्धार गरेर आश्रममा ल्याउने मात्र नभई उनीहरूको स्वास्थ्य अवस्था सुधार, परिवारको खोजी र सम्भव भएसम्म पुनःपारिवारिक जीवनमा फर्काउने कार्यलाई आश्रमले आफ्नो सेवाको महत्त्वपूर्ण हिस्सा बनाउँदै आएको छ।
उद्धारबाट संरक्षण, संरक्षणबाट उपचार र उपचारपछि परिवारसम्मको यात्रालाई निरन्तरता दिँदै मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवको जीवनमा पुनः आशा र सुरक्षित भविष्यको बाटो खोल्ने प्रयास गरिरहेको छ।
हाल मानवसेवा आश्रमले २३ जिल्लाका ३४ शाखा विस्तार गरी सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी, उद्धार, उपचार, संरक्षण तथा सम्भव भएसम्म पारिवारिक पुनर्मिलनको सेवा निरन्तर सञ्चालन गरिरहेको छ।
मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।