नुवाकोट । विपद्को समयमा सबैभन्दा पहिले साथ, सहारा र भोजनकाे आवश्यकता हुन्छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि घरबास तथा आफन्त गुमाइ विस्थापित भई अस्थायी आश्रयमा रहेका नागरिकको दैनिकी सहज बनाउन मानवसेवा आश्रम एक सातादेखि नुवाकोटमा सेवामा जुटिरहेको छ।
आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले विदुर नगरपालिका–९, जुगेटारस्थित त्रिशूली आधारभूत विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित तथा सुरक्षाकर्मीका लागि भोजन सेवा सञ्चालन गरिरहेको हो। विद्यालयमा रहेका करिब २ सय जनालाई दैनिक बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खानाको व्यवस्था हुँदै आएको छ।

बाढीले धेरै परिवारको नियमित दैनिकीमा असर पारेको अवस्थामा आश्रयस्थलमै पुगेर नियमित भोजन उपलब्ध गराउने कार्यले प्रभावितलाई केही सहजता मिलेकाे छ। विपद्को घडीमा अप्ठयाराेमा रहेका नागरिकसम्म पुगेर तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले भोजन सेवा सञ्चालन गरिएकाे हाे ।
सेवा व्यवस्थापनका लागि मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, केन्द्रीय सदस्य उर्बिन सापकोटा, भक्तपुर जिल्ला संयोजक जमुना पौडेल, ललितपुर जिल्ला सहसंयोजक सरिता गुरुङ र गुणस्तर विभाग प्रमुख अरुण पौडेल लगायतको टोली एक सातादेखि प्रभावित क्षेत्रमै खटिएको छ। टोलीले भोजन व्यवस्थापनसँगै प्रभावितको आवश्यकता पहिचान गरी थप सहयोगका लागि आवश्यक समन्वयसमेत गर्दै आएको छ।

सेवा केवल आश्रममा मात्र सीमित नराखी जहाँ आवश्यकता हुन्छ, त्यहाँ पुगेर सकेको सहयोग गर्नु मानवताको साझा जिम्मेवारी हो भन्ने भावनाका साथ विपद्का समयमा पनि आश्रमले आफ्नो उपस्थिति जनाउँदै आएको छ। तत्कालको आवश्यकतालाई सम्बोधन गर्न सुरु गरिएको भोजन सेवा प्रभावितहरूको अवस्था र आवश्यकताका आधारमा निरन्तरता दिइने आश्रमले उल्लेख गरिएकाे छ ।
यसैक्रममा आनी छोइङ डोल्मा फाउन्डेसन र मानवसेवा आश्रमको टोल नुवाकोट पुगेर आगामी दिनमा पनि प्रभावितहरूको आवश्यकतालाई मध्यनजर गर्दै खाद्यन्न तथा अन्य आवश्यक सहयोगलाई निरन्तरता दिनेछ ।
बाढीका कारण आश्रयविहीन तथा अभिभावकविहीन बन्न पुगेका बालबालिकासहित सहयोग आवश्यक भएका नागरिकको संरक्षण र सेवामा रहने आश्रमले जनाएको छ।