नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरैका घरबार बगाएका छन् । धेरैलाई आफ्ना आफन्त र परिचित ठाउँबाट विस्थापित बनायो। विपद्ले दिएको पीडाबीच अहिले बाढी प्रभावितहरूको आश्रयस्थल बनेको छ नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली आधारभूत विद्यालय। यहीँ बसेर पीडितहरू आफ्नो जीवन फेरि सामान्य हुने आशामा दिन कटाइरहेका छन्।
यस्तो कठिन घडीमा आनी छोइङ डोल्मा फाउन्डेसन र मानवसेवा आश्रम पीडितहरूको साथमा उभिएका छन्। भोक र पीडासँग जुधिरहेका प्रभावितहरूका लागि आश्रमले विद्यालयमा आश्रय लिइरहेका १२० जना बाढी प्रभावित तथा सेवामा खटिएका ४० जना सुरक्षाकर्मीलाई दैनिक तीन पटक भोजन प्रदान गरिरहेको छ। बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खानामार्फत पीडितहरूको पेट मात्र भरिएको छैन, उनीहरूलाई हामी एक्ला छैनौँ भन्ने भरोसा समेत मिलेको छ।

विपद्ले दिएको घाउ ठूलो छ। तर, त्यो घाउमा सानो भए पनि मल्हम लगाउने प्रयासमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, केन्द्रीय सदस्य उर्बिन सापकोटा, भक्तपुर जिल्ला संयोजक जमुना पौडेल र ललितपुर जिल्ला सहसंयोजक सरिता गुरुङ लगायतको टोली प्रभावित क्षेत्रमै खटिएको छ। पीडितका आँखामा देखिएको पीडा, असहायपन र अनिश्चित भविष्यलाई नजिकबाट नियाल्दै टोलीले सेवामार्फत साथ दिइरहेको छ।
विपद्को घडीमा कठिन परिस्थितिबाट गुज्रिरहेका प्रभावित नागरिकका लागि यो सहयोगले केही मात्रामा भए पनि राहतको अनुभूति गराएको छ। संकटका बेला पीडितको साथमा उभिनु नै मानवताको सच्चा परिचय भएको भन्दै आश्रमले आफ्नो सेवालाई निरन्तरता दिने उल्लेख गरेकाे छ ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको टोलीले मंगलबार बिहान दोस्रो चरणको खाद्यान्न सामग्री बोकेर नुवाकोट प्रस्थान गरिसेकाे छ ।
साथै बाढीका कारण आश्रयविहीन तथा अभिभावकविहीन भएका बालबालिकाको संरक्षण र सेवामा सदैव साथमा रहने प्रतिबद्धता आश्रमले व्यक्त गरेको छ।