काठमाडौँ । सडकआश्रित मानवहरूको उद्धार तथा पुनर्मिलनमा समर्पित मानवसेवा आश्रम आजदेखि १५औँ वर्षमा प्रवेश गरेको छ। वि.सं २०६९ भदौ १३ गते हेटौँडाबाट सेवा शुभारम्भ गरेको आश्रमले १४ वर्षको अवधिमा सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य ५ हजार २ सय ५५ जना महिला र ८ हजार ९ सय ५ जना पुरुष गरी १४ हजार १ सय ६० जना सहयोगापेक्षी मानवको उद्धार गरी सेवा प्रदान गरिसकेको छ।
आश्रमले हालसम्म करिब ६ हजार जनालाई पारिवारिक पुनर्मिलन गराएको छ भने १ हजार ९४ जनालाई समुदायमा पुनःस्थापना गरेको जनाएको छ। हाल आश्रममा ९ सय ३७ जना महिला र १ हजार ४ सय ६६ जना पुरुष गरी २ हजार ४ सय ३ जना आश्रितहरु संरक्षणमा रहेका छन् ।
आश्रमले तीन तहका सरकारको आंशिक सहयोग तथा विभिन्न मनकारी दाताहरूको सहयोग र सद्भावसहित देशका विभिन्न जिल्लामा ३५ वटा शाखा विस्तार गरी सडकआश्रित मानवहरुकाे उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै सेवा सञ्चालन गरिरहेकाे छ ।
आश्रमले ७७ जिल्लामा बेवारिसे जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायसँगको समन्वयमा उद्धार गरी गाँस, बास र कपाससँगै स्वास्थ्य तथा शिक्षाको प्रत्याभूति दिँदै आएको छ।
साथै आश्रमले यसै वर्षभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्यसहित उद्धार तथा पुनर्मिलनलाई अभियानलाई तीव्र पारेकाे छ ।
यसैबीच, मानवसेवा आश्रमले १४ औँ स्थापना दिवसका अवसरमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाटभएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकाे छ । बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आश्रमका विभिन्न शाखाहरुमा प्रज्वलन गरी शोकसन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गरिएको छ। साथै यस दुःखद घडीमा विपद्बाट प्रभावित परिवारजनप्रति आश्रमले सदैव साथ र सहयाेग रहने प्रतिबद्धता समेत व्यक्त गरेकाे छ ।