सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा मानवसेवा आश्रमको ३० औँ शाखा सञ्चालनमा आएको छ। बिहीबार विष्णुपुर गाउँपालिका–१, गौरीपुरमा गाउँपालिकाद्वारा नवनिर्मित ‘विष्णु सेवा सदन’ गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले मानवसेवा आश्रमलाई हस्तान्तरण गर्दै नयाँ शाखाकाे समुद्घाटन गर्नुभएकाे हाे ।
भवन हस्तान्तरणसँगै विष्णुपुर गाउँपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त गाउँपालिका’ समेत घोषणा गरिएको छ।
गौरीपुरमा रहेको उक्त भवनलाई सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, संरक्षण तथा सेवा व्यवस्थापनका लागि प्रयोग गरिनेछ। स्थानीय तहसँगको सहकार्यमा निर्माण भएको विष्णु सेवा सदनले सिरहा क्षेत्रमा सडकआश्रित मानवको व्यवस्थापनका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै मानवसेवा आश्रमले स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माणकाे अभियानलाई निरन्तरता दिने जनाएको छ।
समुद्घाटन समारोहमा मानवसेवा आश्रमका अभियन्ता, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
मानवसेवा आश्रमले विगत १४ वर्षदेखि सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक मानवको उद्धार गरी आश्रय, भोजन, स्वास्थ्य उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका लागि सेवा प्रदान गर्दै आएको छ।