सिरहामा भाेलि मानवसेवा आश्रमको ३५औँ शाखा समुद्घाटन हुँदै
सिरहा । मानवसेवा आश्रमको ३५औँ शाखा सिरहामा सञ्चालनमा आउने भएको छ। बिहीबार सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरमा निर्माण सम्पन्न विष्णु सेवा सदनको बिहान ११ बजे विशेष समारोहबीच औपचारिक समुद्घाटन हुँदैछ।
विष्णुपुर गाउँपालिकाले निर्माण गरेको उक्त सेवा सदन मधेश प्रदेशमा मानवसेवा आश्रमको पाँचौँ शाखाका रुपमा विस्तार हुनेछ । नयाँ शाखाबाट सिरहा तथा आसपासका क्षेत्रमा बेवारिसे अवस्थामा जीवन बिताइरहेका सहयोगापेक्षी मानवको उद्धार गरी संरक्षणदान गरिनेछ।
अनाथ तथा सहयोगापेक्षी मानवको सेवाका लागि सञ्चालनमा आउन लागेको आश्रमलाई आवश्यक सहयोग गर्न गाउँपालिका प्रतिबद्ध रहेको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो।
सडकआश्रित मानवको उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलन अभियानलाई देशभर विस्तार गर्दै आएको मानवसेवा आश्रमको सेवा यात्रामा विष्णु सेवा सदन जोडिएसँगै सिरहा तथा आसपासका क्षेत्रमा मानवीय सेवाको पहुँच थप विस्तार हुने अपेक्षा गरिएकाे छ ।
आश्रमले सहयोगापेक्षी मानव देखिएमा उद्धारका लागि मानवसेवा आश्रमसँग समन्वय गर्न स्थानीयवासी तथा सरोकारवाला सबैमा आग्रह गरेको छ।
साथै, भोलि हुने समुद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था, समुदाय तथा सम्पूर्ण मानवताप्रेमी मनहरूको साथ, सहयोग र सहभागिताका लागि आश्रमले अनुरोध समेत गरेको छ।