बागलुङ । बागलुङ नगरपालिका–४, निर्णयघाटमा निर्माण हुने मानवसेवा आश्रमको थप गुरुयोजनाको अवधारणात्मक प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार आयोजित प्रस्तुतीकरण कार्यक्रममा मानवसेवा आश्रमको भावी संरचना, सेवा व्यवस्थापन तथा आवश्यक पूर्वाधारसहित गुरुयोजनाका प्राविधिक र अवधारणागत पक्षबारे छलफल गरिएको हो। मानवीय सेवा र सेवाभावलाई केन्द्रमा राखेर निर्माण हुन लागेको आश्रमलाई व्यवस्थित तथा दीर्घकालीन रूपमा सञ्चालन गर्न गुरुयोजना तयार पारिएको छ।
गुरुयोजना निर्माणको प्राविधिक तथा अवधारणागत पक्षमा मानवसेवा आश्रमका अभिभावक इन्जिनियर सञ्जीव शाक्यले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ। प्रस्तुतीकरणका क्रममा गुरुयोजनाका विभिन्न पक्षमाथि छलफल गर्दै सहभागीबाट आवश्यक सुझाव, प्रतिक्रिया तथा प्राविधिक परामर्शसमेत प्राप्त भएको छ।
प्रस्तुतीकरणबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई समेटेर गुरुयोजनालाई यथाशीघ्र अन्तिम रूप दिइने मानवसेवा आश्रमले उल्लेख गरेकाे छ। स्वीकृत गुरुयोजनाअनुसार निर्माण कार्यलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी ढंगले अघि बढाइने भएकाे छ ।
निर्णयघाटमा निर्माण हुने मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, आश्रमलाई मानवता, सेवा र सामाजिक उत्तरदायित्वको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।