काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मानवसेवा आश्रमका लागि धुनिवेशी नगरपालिका–३, धादिङमा १५ करोड रुपैयाँ लागतमा मानवसेवा धाम निर्माण गर्ने भएको छ। धाममा काठमाडौँमा रहेका करिब २ सय जना सहयोगापेक्षी सडकआश्रित मानवको व्यवस्थापनसँगै समुदायस्तरमा मानवता अध्ययन केन्द्रका रूपमा समेत विकास गरिने भएको छ।
काठमाडौँ महानगरपालिकाले वि.सं २०७४ सालदेखि मानवसेवा आश्रमसँगको सहकार्यमा काठमाडौँमा रहेका सडकआश्रित मानवको उद्धार तथा व्यवस्थापन गर्दै आएको थियो। महानगरपालिकाले गत जेठ २६ गते मानवसेवा आश्रमको सहकार्यमा काठमाडौँलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरिसकेको छ।
महानगरपालिकाले आश्रमका लागि भवन निर्माण गर्ने प्रयास गर्दै आए पनि उपयुक्त जग्गा प्राप्त हुन नसक्दा लामो समयदेखि प्रक्रिया अघि बढ्न सकेको थिएन। आश्रमले आफ्नै लागतमा जग्गा खरिद गरेपछि लामो समयदेखि अन्योलमा रहेको भवन निर्माणको प्रक्रिया टुङ्गोमा पुगेको काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डङ्गोलका सचिवालय प्रमुख वसन्त आचार्यले बताउनुभयो।
धामको निर्माण काठमाडौँ महानगरपालिकाले गर्ने, सञ्चालन तथा व्यवस्थापन मानवसेवा आश्रमले गर्ने र आवश्यक समन्वय तथा अन्य सहयोग धुनिवेशी नगरपालिकाले गर्ने सहमति भएको छ। धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले धाम निर्माण तथा सञ्चालनका क्रममा नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो।
धाम निर्माणस्थलको काठमाडौँ महानगरपालिका सहरी विकास आयोजना सार्वजनिक निर्माण विभाग, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष, धुनिवेशी नगरपालिकाका नगरप्रमुख तथा स्थानीय तहका प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा टोलीले धामको निर्माण संरचना, निर्माण प्रक्रिया तथा भावी योजनाबारे जानकारी लिएको थियो।
अनुगमनका क्रममा निर्माणसँग सम्बन्धित कानुनी तथा व्यवहारिक पक्षमा कुनै अड्चन नहुने विषयमा महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुखले जानकारी गराउनुभएको थियो।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले यस सहकार्यबाट काठमाडौँमा रहेका सडकआश्रित मानवको उद्धार, संरक्षण तथा व्यवस्थापन अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयाे। धामलाई आश्रयस्थलसँगै मानवता अध्ययन र सामाजिक सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत रहेको बताउनुभयाे ।
मानवसेवा आश्रम सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनक सेवामा समर्पित एक गैरनाफामुलक संस्था हाे ।
मानवसेवा आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।