काठमाडौँ । सडकआश्रित मानवको उद्धार तथा पारिवारिक पुनर्मिलन अभियानलाई निरन्तरता दिँदै मानवसेवा आश्रमले साउन महिनामा मात्रै देशका विभिन्न स्थानबाट २ सय ४८ जनाको उद्धार गरेको छ। उद्धार गरिएका मध्ये १ सय ५७ जना पुरुष र ९१ जना महिला रहेका छन्। उद्धार गरिएका व्यक्तिहरुलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ।
उद्धारसँगै पारिवारिक पुनर्मिलनलाई पनि प्राथमिकतामा राखेको आश्रमले साउन महिनामा पारिवारिक विवरण पहिचान भएका १ सय ८ जनालाई परिवारसँग पुनर्मिलन गराउन सफल भएको छ। लामो समयदेखि परिवारबाट टाढिएका वा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूकाे उद्धार गरी तथा पारिवारिक सम्बन्ध स्थापित गर्दै पुनः परिवारमाझ फर्काउने कार्यलाई आश्रमले अभियानकै रूपमा अघि बढाउँदै आएको छ।
साउन महिनामा सबैभन्दा बढी काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरबाट ८८ जनाको उद्धार गरिएको छ भने १७ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ। त्यस्तै, चितवन शाखाले ३१ जनाको उद्धार तथा १९ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।
रुपन्देहीस्थित तिलोत्तमा शाखाले १९ जनाको उद्धार गरी ११ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ। त्यस्तै, दाङ र सुनसरी शाखाले समान ११/ ११ जना तथा बाँके र रौतहट शाखाले ८/८ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेका हुन्।
मानवसेवा आश्रमले स्थानीय तह, नेपाल प्रहरी, स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न कारणले घरपरिवार तथा आश्रयविहीन भई सडकपेटी, सार्वजनिक स्थल, मन्दिर परिसर तथा विभिन्न स्थानमा कष्टपूर्ण जीवन बिताइरहेका सडकआश्रित महिला, पुरुष, ज्येष्ठ नागरिक तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उद्धार गर्दै आएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई आश्रममा ल्याई आवश्यक स्वास्थ्य परीक्षण, उपचार, खाना, कपडा, आवास तथा संरक्षण प्रदान गर्दै परिवार पहिचान भएपछि पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको छ।