झापा । मानवसेवा आश्रम झापा शाखाले आफ्नो वार्षिक आय–व्यय तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शाखाले एक वर्षको अवधिमा सञ्चालन गरेका उद्धार, संरक्षण, स्वास्थ्य उपचार तथा पारिवारिक पुनर्मिलनलगायतका गतिविधिसँगै आर्थिक विवरण सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा शाखाले ९९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५७ जना पुरुष र ४२ जना महिला रहेका छन्। त्यस्तै ३६ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ।
आय–व्यय विवरणअनुसार शाखाले विभिन्न व्यक्ति, संघ–संस्था तथा स्थानीय तहबाट कुल २ करोड ५१ लाख ७८ हजार २२ रुपैयाँ सहयोग प्राप्त गरेको छ। जसमध्ये आश्रम सञ्चालनतर्फ ७६ लाख ५४ हजार ३ सय ५७ रुपैयाँ र प्रशासनिकतर्फ २४ लाख ५ हजार ८१ रुपैयाँ खर्च भएको छ। शाखाको कुल खर्च १ करोड ७३ लाख ४० हजार ६ सय १५ रुपैयाँ रहेको छ भने अधिशेष ७८ लाख ३७ हजार ४ सय ६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
प्राप्त सहयोग आश्रममा आश्रितहरूको सेवा व्यवस्थापन तथा आश्रम सञ्चालनमा उपयोग गरिएको आश्रमले जानकारी दिएकाे छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख, भद्रपुर नगरपालिकाका उपप्रमुख, आश्रमका अभिभावक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा सहयोगी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवसेवा आश्रमले गर्दै आएको मानवीय सेवाको प्रशंसा गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। आश्रमले आफ्नो सेवा यात्रामा साथ, सहयोग र अभिभावकत्व प्रदान गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद समेत ज्ञापन गरेको छ।