काठमाडौँ । परिवारबाट विछोडिएर लामो समयदेखि सडक जीवन बिताइ मानवसेवा आश्रम, रानीवन शाखाकाे संरक्षणका रहेका ३ जना आश्रितकाे शुक्रबार सफल पारिवारिक पुनर्मिलन गरिएको छ। परिवारको खोजी, निरन्तर सम्पर्क तथा समन्वयपश्चात उनीहरूलाई आफन्तको जिम्मा लगाउँदै परिवारमा पुनर्मिलन गराइएकाे आश्रमले जनाएकाे छ ।
शुक्रबार गरिएको पुनर्मिलनअन्तर्गत आश्रममा आश्रित राजेन्द्र राईलाई उनका कान्छा छोरा सन्देश राईको जिम्मा लगाई पुनर्मिलन गराइएको छ।
त्यस्तै, बोल्न नसक्ने अवस्थामा आश्रमको संरक्षणमा रहनुभएका १ जना बुवाकाे परिवार पहिचान भएको छ। उनलाई दाइ कृष्णप्रसाद दाहालको जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन गराइएको हो।
यसैगरी, काठमाडौँ महानगरपालिका–३ बाट उद्धार गरिएकी लक्ष्मी परियारको परिवारसँग पुनर्मिलन भएको छ। परिवारको खोजी गरी आवश्यक प्रकृया पूरा गरी आश्रमले शुक्रबार ३ जनालाई परिवारको जिम्मा पारिवारिक पुनर्मिलन गरेकाे हाे ।
लामो समयदेखि परिवारबाट टाढा रहेका आफ्ना आफन्तलाई पुनः परिवारको साथमा फर्काउन पाउँदा परिवारजनले आश्रमप्रति आभार व्यक्त गरेका छन्।
मानवसेवा आश्रमले सडकपेटी तथा सार्वजनिक स्थानमा आश्रयविहीन अवस्थामा रहेका सहयोगापेक्षी मानवहरूको उद्धारसँगै संरक्षण, उपचार, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलाई निरन्तरता दिँदै आएको छ। आश्रमको संरक्षणमा रहेका व्यक्तिहरूलाई सम्भव भएसम्म आफ्नै परिवारमा फर्काउने कार्यलाई आश्रमले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।