काठमाडौँ । मानवसेवा आश्रमको सेवा कार्यबाट प्रभावित हुँदै देश तथा विदेशमा रहेका दाताहरूले आश्रमको सेवा प्रवाहमा सहजीकरणका लागि स्वेच्छिक रूपमा नगद तथा जिन्सी सहयोग प्रदान गरेका छन्।
सातै प्रदेशमा रहेका ३४ वटा सेवा केन्द्रमा आश्रित २४ सयभन्दा बढी बुवाआमा तथा बालबालिकाको सेवा, संरक्षण तथा व्यवस्थापनका लागि सरकार, विभिन्न संघसंस्था, दाता तथा सहयोगीहरूले आफ्नो क्षमता र इच्छाअनुसार योगदान गर्दै आइरहेका छन् ।
सोही क्रममा आइतबार आश्रमलाई देश तथा विदेशमा रहेका दाताहरूबाट १० लाख ५७ हजार ५ सय ४५ रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यस्तै, आश्रम सञ्चालन तथा व्यवस्थापनका लागि ६ लाख ३ सय ९५ रुपैयाँ खर्च भएको मानवसेवा आश्रमकाे आर्थिक विवरणमा उल्लेख गरिएकाे छ ।
आइतबार आश्रममा विभिन्न प्रयोजनले ४ सय ७४ जना अवलोकन तथा सेवाका लागि पुगेका हुन्। अवलाेकनका क्रममा दाताहरुबाट आश्रममा रहेका आश्रितका लागि २ लाख ३३ हजार ७ सय २२ रुपैयाँ बराबरका खाद्य तथा जिन्सी सामग्री प्रदान गरिएकाे छ ।
यसैबीच, आश्रमले उद्धार तथा पारिवारिक पुनर्मिलनको कार्यलाई पनि निरन्तरता दिँदै आइतबार ७ जना पुरुष र २ जना महिला गरी ९ जनाकाे उद्धार गरी संरक्षण प्रदान गरेकाे छ भने २ जना आश्रितको पारिवारिक पुनर्मिलन गराइएको छ।
मानवसेवा आश्रमले सडकमा रहेका सहयोगापेक्षी मानवको उद्धार, संरक्षण, उपचार तथा पारिवारिक पुनर्मिलनसँगै सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा गर्दै आइरहेकाे छ ।