रुपन्देही । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५, फुलवरियाका ३५ वर्षीय ओमप्रकाश राजभर करिब एक दशकपछि हातखुट्टामा बाँधिएको फलामे साङ्लोबाट मुक्त भएका छन्। मानसिक स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई करिब १० वर्षदेखि घरमै सिक्रीले बाँधेर राख्दै आएको थियो।
भरत राजभरका छोरा ओमप्रकाश करिब १० वर्षअघि रोजगारीका लागि विदेशमा थिए। सोही क्रममा उनकी श्रीमतीले छोरीलाई जन्म दिएपछि अर्कै व्यक्तिसँग विवाह गरेर गएको परिवारको भनाइ छ। त्यसपछि उनी गहिरो तनावमा परेको र विदेशबाट घर फर्किएपछि उनको मानसिक स्वास्थ्यमा क्रमशः समस्या देखिँदै गएको थियाे।
आर्थिक अवस्था कमजोर रहेका कारण परिवारले ओमप्रकाशको उपचार र औषधिका लागि आवश्यक खर्च जुटाउन सकेन। उनका वृद्ध बुवा भरत राजभर मजदुरी गरेर परिवारको दैनिक गुजारा चलाउनुपर्ने अवस्थामा रहेकाले उपचार र नियमित हेरचाह हुन नसकेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी थारुले बताउनुभयो ।
उपचारको अभावमा अवस्था थप जटिल बन्दै गएपछि परिवारले उनलाई घरमै सिक्रीले बाँधेर राख्ने गरेको थियो। यसरी ओमप्रकाशको जीवनको करिब एक दशक घरभित्रै सीमित भयो।
ओमप्रकाशको अवस्थाबारे सरावल गाउँपालिका–५ का वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत गाउँपालिका अध्यक्षलाई जानकारी पुगेपछि सामाजिक अगुवाहरूको पहलमा उनको उद्धार गरिएको हो।
गाउँपालिकाको एम्बुलेन्समार्फत रुपन्देहीस्थित मानवसेवा आश्रम तिलोत्तमामा शाखामा ओमप्रकाशलाई उपचार तथा संरक्षणका लागि राखिएकाे छ ।
करिब १० वर्षपछि फलामे साङ्लोबाट मुक्त भएका ओमप्रकाशले अब आश्रममा आवश्यक उपचार, हेरचाह र सुरक्षित आश्रय पाउने भएका छन्। साथै आश्रमले ओमप्रकाशकाे स्वास्थ्य सुधार भएसँगै पारिवारिक पुनर्मिलन गराउने उल्लेख गरेकाे छ ।