काठमाडौँ । मानवसेवा आश्रमले बुधबार देशका विभिन्न स्थानबाट सडकजीवन बिताइरहेका २३ जनाको उद्धार गरी सुरक्षित संरक्षणमा लिएको छ। नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको समन्वयमा १६ पुरुष र ७ महिलाको उद्धार गरिएको आश्रमले जनाएको छ। त्यस्तै साेहीदिन आश्रमले २ जना आश्रित पारिवारिक पुनर्मिलन सम्पन्न गरेकाे छ ।
उद्धार गरिएकामध्ये सबैभन्दा बढी २२ जनालाई काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरमा संरक्षणका लागि राखिएकाे छ । सडकमा अभाव, असुरक्षा र उपेक्षाबीच जीवन बिताइरहेका उनीहरूलाई आश्रमले सुरक्षित आवास, भोजन, स्वास्थ्य हेरचाह तथा आवश्यक संरक्षणको व्यवस्था सहित संरक्षण प्रदान गरेकाे हाे ।
यसैबीच, मानवसेवाकाे अभियानलाई निरन्तरता दिन विभिन्न दाताबाट बुधबार मात्र १२ लाख ३९ हजार ४ सय २८ आर्थिक सहयोग प्राप्त भएको छ। प्राप्त सहयोग मानवसेवा आश्रमका देशभर सञ्चालन भइरहेका उद्धार, संरक्षण, उपचार तथा पुनर्मिलनका सेवामा खर्च गरिँदै आएकाे छ । सोही दिन सेवा व्यवस्थापनका लागि ५ लाख ८५ हजार ९२ खर्च भएको आश्रमकाे आर्थिक विवरणमा उल्लेख गरिएको छ।
देशभर रहेका आश्रमका विभिन्न शाखाकाे संरक्षणमा रहेका आश्रितहरूका लागि बुधबार ४६ वटा भोजनसेवा र ८ वटा खाजा सेवा सम्पन्न भएका छन्।
त्यस्तै, मानवता अध्ययन, अवलोकन तथा विभिन्न उद्देश्यले बुधबार ३ सय ९० जनाले आश्रम अवलाेकन गरेका हुन् । अवलोकनका क्रममा विभिन्न दाताबाट सेवा सहजीकरणका लागि ७४ हजार २ सय १४ बराबरकाे जिन्सी तथा खाद्यान्न सामग्री सहयोग बापत आश्रमलाई प्रदान गरिएकाे छ ।
मानवसेवा आश्रमले सडकमा सहयोगापेक्षी अवस्थामा रहेका नागरिकहरूको उद्धारदेखि संरक्षण, उपचार र पारिवारिक पुनर्मिलनसम्मको अभियानलाई समाजका सबै क्षेत्रको साथ, सहयोग र सहभागिताले थप प्रभावकारी बनेकाे उल्लेख गरेकाे छ ।