गोरखा। गोरखा नगरपालिका–१०, छेपेटारमा निर्माण सम्पन्न भएर लामो समयदेखि सञ्चालन हुन नसकेको गण्डकी प्रदेश ज्येष्ठ नागरिक आश्रम अब सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय, गोरखा र मानवसेवा आश्रमबीच मंगलबार आश्रम सञ्चालन तथा भवन उपयोगसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा प्रथम पक्षकातर्फबाट एकीकृत सेवा कार्यालय, गोरखाका कार्यालय प्रमुख दशरथ शर्मा र दोस्रो पक्षकातर्फबाट मानवसेवा आश्रमकी केन्द्रीय सदस्य निता केसीलेहस्ताक्षर गर्नुभएको थियो। सम्झौता कार्यक्रममा गोरखा नगरपालिका–१० का वडाध्यक्ष प्रदिप कुँवरसँगै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार मानवसेवा आश्रमले आगामी पाँच वर्षसम्म ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्नेछ। आश्रममा ६० वर्ष वा सोभन्दा माथिका असहाय, अशक्त, अभिभावकविहीन बालबालिका तथा संरक्षणको आवश्यकता भएका ज्येष्ठ नागरिकलाई सुरक्षित आवास, नियमित हेरचाह, स्वास्थ्य उपचार, संरक्षण तथा सम्मानजनक जीवनयापनका लागि आवश्यक सेवा उपलब्ध गराइने भएकाे छ ।
लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको आश्रम अब सञ्चालनमा आउने भएपछि गोरखासहित गण्डकी प्रदेशका सहयोगापेक्षी ज्येष्ठ नागरिकको संरक्षण र सेवामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। यस सहकार्यले प्रदेश सरकार र मानवसेवा आश्रमबीच सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा समेत गरिएको छ।
वडाध्यक्ष कुँवरले लामो समयदेखि प्रयोगविहीन रहेको आश्रम सञ्चालनमा आउनु समग्र गण्डकी प्रदेशकै सामाजिक सेवाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै यसले असहाय ज्येष्ठ नागरिकको संरक्षणमा उल्लेखनीय योगदान पुग्नु विश्वास व्यक्त गर्नुभयो।