काठमाडौँ । सडकमा सहयोगको प्रतीक्षामा रहेका असहाय, अशक्त र बेवारिसे सडक मानवहरुको उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनमा समर्पित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी आगामी सेप्टेम्बर–अक्टोबरमा अष्ट्रेलियाको भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, लाउन्सेस्टन, सिड्नी, क्यानबेरा, ब्रिस्बेन र डार्विन गरी नौ शहरमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

वि.सं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रम हाल नेपालकै अग्रणी गैरनाफामूलक सामाजिक संस्थाका रूपमा स्थापित भइसकेकाे छ । संस्थाले हालसम्म १४ हजार ६० जना सडकआश्रित व्यक्तिको उद्धार गरिसकेको छ, जसमध्ये ५ हजार ९ सय २६ जनाको सफल पारिवारिक पुनर्मिलन सम्पन्न भइसकेको छ। हाल आश्रमले देशका २३ जिल्लामा सञ्चालित ३४ सेवाकेन्द्रमार्फत २ हजार ४ सय ३ जना आश्रितहरुलाई सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेकाे छ।
हाल आश्रमका विभिन्न सेवा केन्द्रहरूमा मोरङको पोखरिया सेवा केन्द्रमा ६५ जना, धरानमा ५६, झापामा १०४, धनियाटोल (मोरङ) मा ७४, सर्लाहीमा ५७, रौतहटमा ५६, वीरगञ्जमा ४६, जनकपुरमा ५८, सामाखुसीमा ५०, धादिङमा ४२, स्क्रिनिङ सेन्टर रानीवनमा ८९, बालगृह मकवानपुरमा २०, रानीवनमा २१३, भक्तपुरमा ४२, ललितपुरमा ४७, चितवनमा १५०, हेटौँडामा २४३, लमजुङमा २५, हेम्जामा १६४, छोरेपाटनमा १९०, बागलुङमा ८५, गोरखा बालगृहमा ३३, बुटवलमा ५९, तिलोत्तमामा १७०, दाङमा ८३, नेपालगञ्जमा ९४ तथा कैलालीमा ५८ जना संरक्षणमा रहेका छन्।

अध्यक्ष अधिकारीको भ्रमणले नेपालमा सञ्चालित यस मानवीय अभियानलाई अन्तर्राष्ट्रिय नेपाली जनसमुदायसँग जोड्ने र प्रवासी नेपालीहरूको सहभागिता तथा सहयोग विस्तार गर्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उनले आश्रमको अभियान, उपलब्धि र आगामी योजनाका साथै सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी सम्बोधन गर्नेछन्।
यसैबीच, दक्षिण अष्ट्रेलियास्थित मानवसेवा साउथ अष्ट्रेलिया कमिटी र एडिलेडका नेपाली समुदाय अध्यक्ष अधिकारीको स्वागतका लागि तयारीमा जुटेका छन्। राज्य संयोजक अनुभव अधिकारीको नेतृत्वमा गठित समितिले भ्रमणलाई सफल बनाउन आवश्यक व्यवस्थापन र समन्वयलाई तीव्रता दिएको छ।