हेटाैँडा । बागमती प्रदेश सरकारले असार २६ गते हेटौँडामा आयोजित विशेष समारोहबीच प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश ’ घोषणा गरेको छ। यससँगै बागमती प्रदेश, कर्णाली र गण्डकीपछि घोषणा गर्ने नेपालको तेस्रो प्रदेश बनेको छ।
कार्यक्रममा माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई औपचारिक रूपमा घोषणा गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले घोषणा केवल सुरुआत मात्र भएको उल्लेख गर्दै यसको प्रभावकारी र दीगो कार्यान्वयन नै सबैभन्दा ठूलो जिम्मेवारी भएको बताउनुभयो।

त्यस्तै सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा सञ्चालन हुँदै आएको अभियानमार्फत सडकमा कष्टकर जीवन बिताइरहेका असहाय, बेवारिसे व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनर्स्थापनाको कार्यलाई संस्थागत रूपमा अघि बढाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारी तथा गायिका आनी छोइङ डोल्मालगायतले सडक आश्रित मानवमुक्त स्थानीय तहको घोषणा औपचारिकतामा सीमित नरही प्रभावकारी कार्यान्वयन हुँदै दीगो रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो। साथै, मानवसेवा आश्रमले मानवताको सेवामा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै सम्पूर्ण आश्रम परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूकाअनुसार १४ वर्षअघि हेटौँडाबाट सुरु भएको अभियान हाल २३ जिल्लामा ३४ सेवाकेन्द्र विस्तार भएका छन्। स्थापना भएयता बागमती प्रदेशका विभिन्न जिल्लाबाट १ हजार ७ सयभन्दा बढी सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये धेरैलाई उपचारपछि परिवारसँग पुनर्मिलन गराइएको छ भने देशभरबाट उद्धार गरिएका ५ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई परिवारमै पुनर्स्थापना गरिएको छ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य केवल आश्रय उपलब्ध गराउनु मात्र होइन, सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराई उहाँहरूलाई सम्मानपूर्ण जीवनमा फर्काउनु हो।”
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण केवल एउटा घोषणा मात्र नभइ, यो मानवता, करुणा र साझा जिम्मेवारीको अभियान हो। यस अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, दातृमन, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति मानवसेवा आश्रमले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।