काठमाडौँ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धारमा सक्रिय मानवसेवा आश्रमले असारको दोस्रो सातामा देशका विभिन्न स्थानबाट ३४ जना बेवारिसे सडक मानवहरुकाे उद्धार गरी संरक्षण प्रदान गरेको छ।
उद्धार गरिएकामध्ये १८ जना पुरुष र १६ जना महिला रहेका छन् । सडकपेटी, सार्वजनिक स्थल तथा विभिन्न स्थानमा अलपत्र अवस्थामा जीवनयापन गरिरहेका सडक मानवहरुलाई सम्बन्धित स्थानीय तह, नेपाल प्रहरी तथा सरोकारवाला निकायसँगको समन्वयमा उद्धार गरी आश्रमको संरक्षणमा राखिएको हो।
त्यसैगरी, सोही अवधिमा विभिन्न समयमा उद्धार भइ स्वास्थ्य लाभ गरी पारिवारिक विवरण पहिचान भएका आश्रितहरूको पारिवारिक पुनर्मिलन अभियानलाई पनि आश्रमले निरन्तरता दिएको छ। आवश्यक प्रक्रिया पूरा गरी २३ जनालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले उद्धारसँगै स्वास्थ्य उपचार, संरक्षण, पारिवारिक खोजी तथा पुनर्मिलनलाई प्राथमिकतामा राख्दै देशभर सेवा सञ्चालन गर्दै आएको छ।
विभिन्न स्थानमा सहयोगापेक्षी अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण र सम्मानपूर्ण जीवनका लागि सराेकारवाला निकाय, स्थानीय तह, नेपाल प्रहरी तथा सर्वसाधारणसँग सहकार्य गर्दै आश्रमले देशभर २३ जिल्लामा ३४ वटा शाखा विस्तार गरी सेवा सञ्चालन गरिरहेकाे छ ।
मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।