काठमाडौँ । आइतबार मानवसेवा आश्रमद्वारा बेवारिसे अवस्थामा कष्टपूर्ण जीवन व्यतित गरिरहेका ३ जना सडक मानवकाे उद्धार गरिएकाे छ भने आश्रमको संरक्षणमा रहँदै आउनुभएका ४ जना आश्रितको आवश्यक प्रक्रिया पूरा गरी पारिवारिक पुनर्मिलन गरिएकाे हाे ।
साेहीदिन आश्रमका विभिन्न शाखामा रहनुभएका आश्रितहरूको सेवा व्यवस्थापनका लागि दाताहरुबाट १० लाख ७४ हजार ६२ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ। त्यस्तै आश्रम सञ्चालनका लागि ४ लाख ५३ हजार ५ सय ९२ रुपैयाँ खर्च भएको आश्रमको आर्थिक विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै आश्रममा आश्रितहरूको दैनिक भोजनसेवा सहजीकरणका लागि ३८ वटा भोजनसेवा तथा १० वटा खाजासेवा सञ्चालन गरिएकाे थियाे ।विभिन्न व्यक्ति, परिवार तथा संस्थाले जन्मदिन, पुण्यतिथि, विवाह वर्षगाँठलगायतका विशेष अवसरलाई मानवसेवासँग जोड्दै भोजन तथा खाजा सेवा याेगदान गरेका हुन्।
आइतबार विभिन्न प्रयोजनका लागि ४ सय १५ जनाले आश्रमका शाखाहरुको अवलोकन भ्रमण गरेका छन्। साेही क्रममा दाताहरूबाट आश्रमलाई १ लाख ५२ हजार २ सय ८० रुपैयाँ बराबरका जिन्सी तथा खाद्यन्न सामग्री सहयोग बापत प्राप्त भएकाे छ ।
आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गरिरहेका बेसहारा, असहाय, अशक्त, सडक मानवहरूको उद्धार, उपचार र संरक्षणसँगै सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गर्दै आइरहेकाे छ ।
मानवसेवा आश्रमले सरकारी निकाय, विभिन्न संघसंस्था, सहयोगी दाता तथा सर्वसाधारणको निरन्तर साथ र सहयोगबाट देशका २३ जिल्लामा ३४ वटा शाखामार्फत सडकआश्रित मानवहरुका लागि सेवा सञ्चालन गरिरहेकाे छ ।