चितवन । सडकबाट उद्धार भइ मानवसेवा आश्रमको संरक्षणमा जीवन बिताइरहेका ३ जना आश्रित अन्ततः आफ्नै परिवारमा फर्किएका छन्।
पुनर्मिलन हुनेहरूमा चितवनको भरतपुर महानगरपालिका–२३ घर भएका रामबहादुर विक, भरतपुर महानगरपालिका–३ की अम्बिका अधिकारी तथा नवलपुरको गैँडाकोट नगरपालिका–१५ निवासी बुद्धिमाया सार्की रहेकी छन्।
विभिन्न समयमा उद्धार गरी आश्रमको संरक्षणमा राखिएका उनीहरूको पारिवारिक खोजी गरी आफन्तसँग सम्पर्क स्थापित गरिएको थियो। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि आश्रमले ३ जनालाई परिवारको जिम्मा लगाउँदै पुनर्मिलन सम्पन्न गरेकाे हाे ।
सडकमा जाेखिमपूर्ण जीवन व्यतित गर्न भएका सडक मानवहरुकाे उद्धार गरी आश्रय, संरक्षणपछि सम्भव भएसम्म आश्रमले आफ्नै परिवारसँग पुनर्मिलन गराउँदै आइरहेकाे छ ।
पुनर्मिलनका प्रत्येक क्षण केवल एउटा व्यक्तिको घरफिर्ती मात्र नभई बिछोडिएका सम्बन्धहरू फेरि जोडिने, परिवारमा खुसी फर्किने र मानवताको जित हुने एक महत्त्वपूर्ण क्षण हुन् ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन व्यतित गर्न विवश बेसहारा,असहाय,अशक्त, अभिभावकविहीन बालबालिका, शारीरिक तथा मानसिकरुपमा कमजोर सडक मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षणसँगै सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउँदै आइरहेकाे छ ।