काठमाडौँ । कसैका लागि सामान्य दिन जस्तै लाग्न सक्छ, तर मानवसेवा आश्रमका लागि प्रत्येक दिन कुनै न कुनै जीवनसँग जोडिएको हुन्छ। कोही भोकै नहुन्, कोही सडकमा असहाय भएर रात कटाउन बाध्य नहोस् र कोही आफ्नो परिवारबाट सधैँका लागि टाढा नहोस् भन्ने उद्देश्यका साथ आश्रमले बुधबार पनि सडक मानवहरुकाे सेवामा आफूलाई समर्पित गरिरह्यो।
आश्रमकाअनुसार बुधबार मात्रै सेवा व्यवस्थापन, आश्रितहरूको संरक्षण, उपचार तथा पूर्वाधार निर्माणलगायतका कार्यमा १६ लाख २६ हजार ६ सय ४९ रुपैयाँ खर्च भएको छ। साथै मानवसेवाको यो अभियानलाई साथ दिँदै विभिन्न स्थानबाट दाताहरूले आश्रमलाई १२ लाख ७८ हजार ४ सय १३ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
सडकमा बेसहारा जीवन बिताइरहेका व्यक्तिलाई सुरक्षित आश्रयको दायरामा ल्याउँदै आश्रमले बुधबार ४ जनाको उद्धार गरेको छ। साथै, परिवारको न्यानो काखबाट टाढिएका २ जना आश्रितलाई पुनः परिवारमा फर्काउन सफल भएकाे छ ।
देशभर रहेका शाखाहरूमा आश्रितहरुका लागि बुधबार २४ वटा भोजन सेवा र ११ वटा खाजा सेवा सञ्चालन गरिएकाे थियाे ।
त्यस्तै, अवलाेकनका लागि आश्रमका विभिन्न शाखाहरूमा ९ सय ८९ जना आगन्तुक पुगेका थिए। आश्रमको सेवा, समर्पण र मानवताको अभियानलाई नजिकबाट अनुभूति गर्दै दाताहरूबाट आश्रमलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ बराबरकाे जिन्सी तथा खाद्यन्न सामग्री सहयोग प्राप्त भएको छ।
सहयोगापेक्षी सडकआश्रित नागरिकहरूको उद्धार, संरक्षण, उपचार र पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राख्दै मानवसेवा आश्रमले देशभर आफ्नो सेवा अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ।