धरान । सडकपेटीमै बेवारिसे जीवन बिताइरहेका दुई सहयोगापेक्षी सडकआश्रित मानवलाई मंगलबार मानवसेवा आश्रम धरानले उद्धार गरी संरक्षण प्रदान गरेको छ। असहाय अवस्थाका कारण आफन्तको साथ र पहिचानबाट टाढिएका उनीहरूलाई सुरक्षित आश्रयमा ल्याएर आवश्यक हेरचाह सुरु गरिएको आश्रमले जनाएको छ।
उद्धार हुनेमध्ये नाम–ठेगाना खुल्न नसकेका अन्दाजी ८० वर्षीय पुरुषलाई दुहवी बजार क्षेत्रमा अलपत्र अवस्थामा फेला पारेपछि उद्धार गरिएकाे हाे । बोल्न नसक्ने अवस्थामा रहेकाले उनको पारिवारिक विवरणसमेत खुल्न नसकेको आश्रमले जनाएको छ।
त्यसैगरी धरान–१७ रेल्वेचोकबाट करिब ६० वर्षीय पर्शुराम मण्डल नाम बताउने पुरुषको नेपाल प्रहरीको समन्वयमा उद्धार गरिएको छ। उनको पनि विस्तृत पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन।
दुवै जनाको पारिवारिक विवरण नखुलेका कारण पुनर्मिलन प्रक्रिया चुनौतीपूर्ण बनेको आश्रमले उल्लेख गरेकाे छ। उद्धार गरिएका दुवै जनाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा मानवसेवा आश्रम धरान शाखामा सम्पर्क गरी परिवारसम्म पुग्न सहयोग गरिदिन आश्रमले सबैमा अनुरोध गरेको छ।
गत वर्ष असोज २९ गते धरान–१६, सनमार्गमा औपचारिक रूपमा सञ्चालनमा आएको मानवसेवा आश्रम धरानमा हाल ७० जना बुवा–आमाहरू संरक्षणमा रहेका छन्।
मानवसेवा आश्रमले हाल २३ जिल्लामा रहेका ३४ शाखामार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण, उपचार, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।