काठमाडौँ । सोमबार मानवसेवा आश्रमले देशका विभिन्न शाखामार्फत ८ जना बेवारिसे सडकआश्रित व्यक्तिहरूको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन्।
साेहीक्रममा आश्रमले विभिन्न समयमा उद्धार गरी संरक्षणमा राखिएका थप ८ जना आश्रितलाई परिवारसँग पुनर्मिलन गराइएको छ । उद्धारसँगै पारिवारिक पुनर्मिलनलाई पनि प्राथमिकतामा राख्दै आश्रमले निरन्तर १३ वर्षदेखि मानवीय सेवा सञ्चालन गरिरहेकाे छ ।
साेहीदिन आश्रमको सेवा सहजीकरणका लागि देश–विदेशका मनकारी दाताहरूबाट आश्रमलाई १३ लाख ९१ हजार ३ सय ३७ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ। त्यस्तै आश्रमकाे पूर्वाधार विकास, सञ्चालन तथा विभिन्न सेवा व्यवस्थापनका लागि १६ लाख ६९ हजार ३ सय ५८ रुपैयाँ खर्च भएको आश्रमले सार्वजनिक गरेको आर्थिक विवरणमा उल्लेख छ।
त्यस्तै आश्रमका विभिन्न शाखाकाे संरक्षणमा रहेका आश्रितहरूको सेवा व्यवस्थापनका लागि एकैदिन २६ वटा भोजन सेवा र ७ वटा खाजा सेवा सम्पन्न भएका छन्। यसैगरी, मानवता अध्ययन, अवलोकन तथा विविध प्रयोजनका लागि ३ सय ७९ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन तथा भ्रमण गरेका छन्।
साेहीक्रमा, मनकारी दाताहरूबाट ५९ हजार १ सय ६५ रुपैयाँ बराबरका जिन्सी तथा खाद्यान्न सामग्रीसमेत सहयोगस्वरूप आश्रमलाई प्राप्त भएको छ।
वि.सं. २०६९ भदौ १३ गते स्थापना भएको मानवसेवा आश्रमले हाल देशका २३ जिल्लामा सञ्चालित ३४ वटा सेवाकेन्द्रमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी, उद्धार, उपचार, संरक्षण तथा सम्भव भएसम्म पारिवारिक पुनर्मिलनको सेवा प्रदान गर्दै आइरहेको छ।