काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत असार २५ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेसँगै देशका विभिन्न स्थानीय तहले पनि उक्त अभियानलाई निरन्तरता दिन थालेका छन्। यसैक्रममा बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई औपचारिक रूपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको छ।
गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, नौ वटै वडाका वडाध्यक्षहरुकाे उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाको तर्फबाट नगरप्रमुख रिसाल र उपप्रमुख लामाले र मानवसेवा आश्रमकाे तर्फबाट केन्द्रीय सदस्य हुमनाथ पौडेल कृष्णले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर निर्माणसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
कार्यक्रममा घोषणा–पत्र वाचन गर्दै नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकालाई मानवीय संवेदनाले सम्पन्न, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरका रूपमा विकास गर्ने सामूहिक प्रतिबद्धतासहित नगरलाई औपचारिक रूपमा घोषणा गर्नुभएको हो।
घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनमा मानवसेवा आश्रमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। जनप्रतिनिधिले गर्नुपर्ने महत्त्वपूर्ण मानवीय दायित्व आश्रमले निरन्तर वहन गरिरहेकाे उल्लेख गर्दै उहाँले आगामी दिनमा नगरपालिकाले आश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
उहाँले यस घोषणासँगै नगरपालिकाबाट कानुनी तथा संस्थागत रूपमा सहयोग गर्ने बाटो खुलेको उल्लेख गर्दै यसलाई मानवीय सेवाको नयाँ सुरुवातका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। साथै, सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण तथा व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएकाे छ ।
मानवसेवा आश्रमममले हालसम्म गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रबाट ५१ पुरुष र २८ महिला गरी ७९ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी आश्रममार्फत सेवा प्रदान गरिसकेकाे छ ।
आश्रमले १३ वर्षको अवधिमा देशभरबाट १३ हजार ७ सय ८४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै संरक्षण, उपचार, पारिवारिक पुनर्मिलन सेवा प्रदान गरिसकेको छ।