काठमाडौँ। सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा सक्रिय सामाजिक संस्था मानवसेवा आश्रमले आजदेखि ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८३’ सुरु गरेको छ।
वर्षातको समयमा काेही पनि मानिस सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन बाध्य नहाेस् भन्ने मानवीय उद्देश्यसहित सञ्चालन गरिएको उद्धार यात्रा मानवसेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको संयुक्त सहकार्यमा सुरु गरिएको हो।
यात्राको आज काठमाडौंस्थित मानवसेवा आश्रम रानीवन परिसरमा आयोजित विशेष समारोहबीच औपचारिक समुद्घाटन गरिएको छ। उद्धार टोलीले भोलिदेखि झापाको मेचीनगरबाट अभियानको औपचारिक यात्रा सुरु गर्ने कार्यक्रम तय गरिएको आश्रमले जनाएको छ।

उद्घाटन समारोहमा समाजसेवी तथा चर्चित गायिका आनी छोइङ ड्रोल्मा, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले मानवता, करुणा र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने अभियानका रूपमा उद्धार यात्राको प्रशंसा गरेका थिए।
मानवसेवा आश्रमले यस अभियानमार्फत देशभर रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउँदै विसं २०८३ भित्र “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” घोषणा गर्ने लक्ष्य लिएकोछ।
बैशाख २८, २९ र ३० गते कोशी प्रदेश केन्द्रित उद्धार यात्रा सञ्चालन हुनेछ। त्यसैगरी बैशाख ३१ गतेदेखि जेठ १ र २ गतेसम्म मधेश प्रदेश, जेठ ३ र ४ गते बागमती प्रदेशअन्तर्गत हेटौँडा र चितवन, जेठ ५, ६ र ७ गते लुम्बिनी प्रदेश, जेठ ८ र ९ गते सुदूरपश्चिम प्रदेश, जेठ १३, १४ र १५ गते गण्डकी प्रदेश तथा पुनः जेठ १५ गतेदेखि २२ गतेसम्म बागमती प्रदेश केन्द्रित उद्धार अभियान सञ्चालन गरिने भएकाे छ ।
बैशाख २७ गतेदेखि जेठ २२ गतेसम्म सञ्चालन हुने उक्त राष्ट्रिय उद्धार यात्रामा उद्धार टाेली देशका विभिन्न जिल्ला तथा शहरहरूमा पुगेर सडकपेटी, मन्दिर परिसर, सार्वजनिक स्थल तथा सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका सडकमानवहरूको खाेजी र उद्धारमा खटिनेछ ।

अभियानमार्फत उद्धार गरिएका व्यक्तिहरूलाई आश्रममा सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा आवश्यक संरक्षण सेवा उपलब्ध गराइनेछ। साथै पारिवारिक पुनर्मिलन सम्भव भएका व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउने पहलसमेत गरिने आश्रमले जानकारी दिएकाे छ ।
अभियानलाई सफल बनाउन मानवसेवा आश्रमले सम्पूर्ण स्थानीय तह, सुरक्षाकर्मी, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा दयालु मनहरूलाई साथ, सहयोग र सद्भावका लागि हार्दिक अनुरोध गरेको छ। साथै आफ्नो वरपर सहयोगापेक्षी सडकआश्रित मानवहरू देखिएको खण्डमा नजिकको प्रहरी कार्यालय वा मानवसेवा आश्रमको उद्धार टोलीसँग समन्वय गरी मानवीय सेवामा सहजीकरण गरिदिन सबैमा आग्रह समेत गरेकाे छ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि नै देशका विभिन्न स्थानमा रहेका बेसहारा, असहाय अशक्त सडक मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै सेवा सञ्चालन गर्दै आइरहेको छ।