पोखरा । पाेखरा महानगरपालिका-२५ हेमजास्थित मानवसेवा आश्रमद्वारा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा विभिन्न संघसंस्थाहरूको प्रेरणादायी सहभागिता बढ्दै गएको छ।
यसैक्रममा, धादिङको गजुरी–२, मलेखुस्थित श्री भद्रकाली सामुदायिक विकास समाजले आश्रमको अक्षयकोष श्रीवृद्धिका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेको छ।
उक्त सहयोगले आश्रमको सेवा सहजता, दिगोपना तथा क्षमता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। “जसको कोही छैन, जसको केही छैन” उनैकाे सेवामा समर्पित रहँदै सेवा भावनालाई आत्मसात् गर्दै आएकाे मानवसेवा आश्रमले साे सहयोगप्रति आभार व्यक्त गरेकाे छ ।
महायज्ञमार्फत संकलित रकम आश्रमको अक्षयकोष वृद्धिमा केन्द्रित गरिनेछ। साथै, यस्ता सहकार्य र सहयोगले सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै मानव सेवाको अभियानलाई अगाडि बढाउने विश्वास गरिएको छ।
आश्रमले पोखरा शाखाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि बैशाख १९ गतेदेखि महायज्ञ सञ्चालन गरेको हो।
महायज्ञमार्फत संकलित सहयोगलाई मानवसेवा आश्रमले असहाय, अशक्त तथा बेवारिसे नागरिकहरूको संरक्षण, उपचार तथा पुनर्स्थापनामा उपयोग गरिनेछ ।