पोखरा । पोखरामा मानवसेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा विद्यार्थी माझ सकारात्मक साेच तथा संस्कार कक्षा सञ्चालन भइरहेकाे छ ।
पोखरा–२५ हेमजा स्थित आश्रम प्राङ्गणमा सञ्चालन भइरहेको उक्त कक्षामा विद्यार्थीहरूलाई नैतिक शिक्षा, अनुशासन, सकारात्मक सोच तथा जीवन उपयोगी व्यवहारबारे प्रशिक्षण दिइँदै आएको छ।
कक्षामा पोखरा–२५ हेमजामा अवस्थित ज्ञानसागर एकेडेमी, स्नो भ्यू इङ्गलिस बोर्डिङ स्कूल, धौलागिरी बोर्डिङ स्कूल, विष्णुपादुका माध्यमिक विद्यालय र श्री गौरीशंकर माध्यमिक विद्यालयबाट करिब २ सय जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख योग प्रशिक्षक ललित शंकर योगी तथा रामजी अधिकारीद्वारा बिहन ७ बजेदेखि ११ बजेसम्म प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षक द्वयले योग, ध्यान, प्रेरणादायी तथा व्यवहारिक ज्ञानमार्फत विद्यार्थीहरूलाई अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अभिमुख गराएका हुन्।
महायज्ञ अवधिभर सञ्चालन हुने यस कार्यक्रमले विद्यार्थीहरूमा आत्मविकास, नैतिक शिक्षा तथा जिम्मेवार नागरिक बन्ने संस्कार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पितृ मोक्ष तथा शान्तिको उद्देश्यसहित सुरु भइरहेको महायज्ञ बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।