पोखरा । लोक संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ। मानवसेवा आश्रमको व्यवस्थापनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल केन्द्रीय समिति कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको हो।
प्रतियोगिता २०८३ वैशाख २० गतेदेखि २६ गतेसम्म मानवसेवा आश्रम, पोखरा–२५ हेमजा महायज्ञ स्थलमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक समूहहरूले वैशाख १९ गतेभित्र टोली दर्ता गरिसक्नुपर्नेछ। कार्यक्रम दैनिक बिहान ९:०० बजेदेखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगितामा वडास्तरका विभिन्न भजन समूहहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीहरूले आफ्नो भक्ति, कला र सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन मात्र नभई आध्यात्मिक अनुभूति दिलाउने विश्वास गरिएकाे छ ।
उत्कृष्ठ प्रदर्शन गर्ने समूह तथा व्यक्तिलाई आकर्षक नगद पुरस्कार समेत प्रदान गरिनेछ। प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ निर्धारण गरिएको छ। साथै उत्कृष्ट भेषभूषा, स्वर, मौलिक प्रस्तुति, झाँकी र नृत्यतर्फ पनि जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २ हजार रुपैयाँ सहभागिता पुरस्कारसमेत उपलब्ध गराइने भएकाे छ ।
पुरस्कार हरेक सहभागी समूहलाई प्रदान गरिनेछ भने प्रत्येक समूहमा कम्तीमा १० जना सदस्य अनिवार्य हुनुपर्नेछ साथै आवश्यक बाजागाजा तथा सामग्री सहभागी टोली आफैँले व्यवस्थापन गर्नुपर्ने जनाएको छ।
लोक भजन चुड्काजस्ता मौलिक सांस्कृतिक धरोहरको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्त्व स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हाे । प्रतियाेगितामार्फत सामाजिक सद्भाव, सांस्कृतिक चेतना र सामूहिक सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।