लुम्बिनी । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको उद्धार यात्राले क्रमशः प्रभावकारी उपलब्धि हासिल गर्दै गएको छ । चैत १५ गतेदेखि सुरु भएको अभियानको १२औँ दिनसम्म आइपुग्दा १० जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण प्रदान गरिएको छ ।

मानवसेवा आश्रमका केन्द्रीय सदस्य उर्विन सापकोटाका अनुसार उद्धार गरिएकामध्ये बर्दियाबाट २ जना, दाङबाट २ जना, रुकुम पूर्वबाट १ जना, अर्घाखाँचीबाट ३ जना तथा पाल्पाबाट २ जना रहेका छन् । विभिन्न जिल्लाका सडक, बजार क्षेत्र तथा सार्वजनिक स्थलहरूमा अलपत्र अवस्थामा रहेका बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूलाई स्थानीय तह र प्रहरी प्रशासनको समन्वयमा सुरक्षित रूपमा उद्धार गरिएको हो ।

उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांश मानसिक रूपमा कमजोर, असहाय तथा परिवारको सम्पर्कविहीन अवस्थामा रहेका छन् । उनीहरूलाई आवश्यक स्वास्थ्य परीक्षण, उपचार, सरसफाइ तथा संरक्षणसहित सम्मानजनक जीवनयापनका लागि मानवसेवा आश्रमका विभिन्न शाखाहरूमा राखिएको छ । आश्रमले दीर्घकालीन रूपमा उनीहरूको पुनर्स्थापना र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने लक्ष्य समेत राखेको जानकारी दिएकाे छ ।

उद्धार कार्यसँगै टोलीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा सरोकारवाला निकायहरूसँग छलफल गर्दै अभियानको उद्देश्यबारे स्पष्ट पार्ने कार्य पनि गरिरहेको छ । यस क्रममा सडकआश्रित मानवहरूको उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि आवश्यक सहकार्य तथा प्रतिबद्धता संकलन गरिएको छ ।

मानवता प्रवर्द्धनलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले समाजमा चेतना अभिवृद्धि गर्दै “कोही पनि सडकमा बस्न नपरोस्” भन्ने सन्देश फैलाउने काम समेत गरिरहेको छ । स्थानीय समुदाय, संघसंस्था तथा दाताहरूको सहयोगले अभियानलाई थप ऊर्जा मिलेको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुग्ने लक्ष्यसहित सञ्चालन गरिएको उद्धार यात्रा निर्धारित कार्यतालिकाअनुसार अगाडि बढिरहेको छ । यात्राकाे चैत ३० गते समापन गरिनेछ ।
उद्धार यात्राले लुम्बिनी प्रदेशलाई क्रमशः सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने दिशातर्फ महत्त्वपूर्ण आधार तयार पार्ने अपेक्षा गरिएको छ ।