चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त गाउँपालिका घोषणा गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा इच्छाकामना गाउँपालिका र मानवसेवा आश्रमबीच सहयोगापेक्षी सडकआश्रित मानवमुक्त गाउँपालिका घोषणा कार्यान्वयनका लागि सम्झौता भएको हाे । मानवता प्रवर्द्धनलाई केन्द्रमा राख्दै गरिएको उक्त सम्झौताले स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।
सम्झौताअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बेसहारा, असहाय, अभिभावकविहीन तथा मानसिक र शारीरिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट तथा कार्यक्रम व्यवस्थापन गर्नुपर्नेछ ।

त्यसैगरी मानवसेवा आश्रमले सडकआश्रित व्यक्तिहरूको पहिचान, उद्धार, संरक्षण, औषधोपचार तथा सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने कार्यलाई निरन्तरता दिनेछ । आश्रमले प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि आवश्यक योजना तथा बजेट प्रस्ताव गाउँपालिकासमक्ष पेश गर्ने दायित्व समेत लिएको छ ।
साथै दुवै पक्षले सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था, अस्पताल तथा सहकारीहरूसँग समन्वय गरी जनचेतनामूलक, उत्प्रेरणात्मक तथा जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् । साथै, अभियानलाई प्रभावकारी बनाउन सुरक्षा, समन्वय र स्रोत व्यवस्थापनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र मानवसेवा आश्रमका महासचिव सुशीला केसीले हस्ताक्षर गर्नुभएको हो ।
मानवसेवा आश्रमले देशव्यापी रूपमा सञ्चालन गर्दै आएको ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण’ अभियानअन्तर्गत गरिएको उक्त सहकार्यले इच्छाकामना गाउँपालिकालाई पूर्ण रूपमा सडकआश्रित मानवमुक्त गाउँपालिका बनाउन टेवा पुगेकाे छ ।