काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाले मंगलबार देशका विभिन्न स्थानबाट १० जना बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षणमा राखेका छन्। आश्रमले एकैदिन ७ जना पुरुष र ३ जना महिला गरी १० जनालाई उद्धार गरेकाे हाे ।
उद्धारअन्तर्गत काठमाडौँस्थित रानीवन शाखाले २ जनालाई संरक्षणमा लिएको छ भने चितवन र सुर्खेत शाखाले समान २/२ जनाको उद्धार गरेका हुन् । त्यसैगरी ललितपुर, तिलोत्तमा, रौतहट र सुनसरी शाखाले १/१ जना गरी थप व्यक्तिहरूलाई उद्धार गरेका छन् । आश्रमले सडकमा अलपत्र, मानसिक तथा शारीरिक रूपमा कमजोर अवस्थाका व्यक्तिहरूलाई उद्धार गरी उनीहरूको संरक्षण, उपचार र पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ।
यसै क्रममा, विभिन्न समयमा उद्धार गरी आश्रमकाे संरक्षणमा रहेका ३ जनाको पारिवारिक पृष्ठभूमि पहिचान गरी परिवारसँग पुनर्मिलन गराइएको छ।
मंगलबार आश्रमका विभिन्न शाखाहरूमा आश्रितहरूको सेवा सहजीकरणका लागि देशविदेशका मनकारी दाताहरूबाट ७ लाख ६२ हजार ४ सय १७ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ। सोही दिन आश्रमको व्यवस्थापन, भोजन, स्वास्थ्योपचार तथा अन्य सेवा सञ्चालनका लागि ४ लाख १९ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको आश्रमले सार्वजनिक गरेको आर्थिक विवरणमा उल्लेख छ।
आश्रितहरूको दैनिक जीवनयापन सहज बनाउन मंगलबार बिहान र बेलुका गरी २६ वटा भोजन सेवा सञ्चालन गरिएको थियो भने ५ वटा खाजा सेवा समेत प्रदान गरिएको छ। यसले आश्रममा रहेका आश्रितहरूको आधारभूत आवश्यकताहरू पूर्ति गर्न सहयोग पुगेको जनाएको छ।
त्यस्तै, सोही दिन ३ सय १३ जनाले आश्रमका विभिन्न शाखाहरूको अवलोकन भ्रमण गरेका छन्। अवलोकनका क्रममा आश्रमको सेवा, व्यवस्थापन तथा उद्धार कार्यबारे जानकारी लिँदै आगन्तुकहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। भ्रमणकै क्रममा दाताहरूबाट आश्रमलाई ८ हजार ४ सय ६० रुपैयाँ बराबरका जिन्सी सामग्री सहयोग स्वरूप प्राप्त भएको छ।
मानवसेवा आश्रमले देशव्यापी रूपमा सडक मानवहरूको उद्धार, संरक्षण, उपचार तथा पुनर्मिलन सेवा कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ। आश्रमले राज्य, स्थानीय तह, सुरक्षा निकाय तथा सर्वसाधारणको सहकार्यमा उद्धार अभियानलाई अझ सशक्त बनाउँदै लैजाने बताएकाे छ ।