काठमाडौँ । मानवसेवा आश्रमको सेवा सहजीकरणका लागि बुढानिलकण्ठ नगरपालिकाले करिब ८ लाख रुपैयाँ बराबरको खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ ।
मंगलबार आश्रम परिसरमै आयोजित एक कार्यक्रमबीच नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही वर्षदेखि निरन्तर रूपमा आश्रमलाई सहयोग गर्दै आएको छ । यसअघि जस्तै चालु आर्थिक वर्षमा पनि ८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी खाद्यान्न सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस वर्ष उक्त बजेटमार्फत दैनिक उपभोग्य अत्यावश्यक खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको आश्रमका केन्द्रीय सदस्य हुमनाथ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिहरूले मानवसेवा आश्रमले गर्दै आएको मानवीय सेवाको उच्च प्रशंसा गरेका थिए । सडकमा कष्टकर जीवन बिताइरहेका असहाय, बेवारिसे तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनामा आश्रमले खेलेको भूमिकालाई समाजका लागि प्रेरणादायी कार्यको रूपमा उल्लेख समेत गरे ।
नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अन्य निकाय, संघसंस्था तथा व्यक्तिहरूलाई समेत मानवसेवा जस्तो पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेका छन् ।
मानवसेवा आश्रमले हाल तीनै तहका सरकारको आंशिक सहयोग तथा देश–विदेशमा रहेका मनकारी दाताहरूको सहयोगमा देशभर २९ वटा शाखा विस्तार गरी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पुनर्मिलन कार्य गर्दै आइरहेको छ ।