काठमाडौँ । मानवसेवा आश्रमलाई आइतबार मनकारी दाताहरूबाट ५ लाख ३८ हजार १ सय ८६ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ। उक्त सहयोग आश्रमका विभिन्न शाखाकाे संरक्षणमा रहनुभएका सहयोगापेक्षी आश्रितहरूको सेवा व्यवस्थापन तथा दैनिक सेवा सञ्चालनका सदुपयाेग गरिने आश्रमले जनाकारी दिएकाे छ ।
आइतबार आश्रमले विभिन्न स्थानबाट ४ जना बेवारिसे व्यक्तिहरूको उद्धार गरी संरक्षण प्रदान गरेको छ। त्यस्तै आश्रमले पारिवारिक पृष्ठभूमि पहिचान भएका ४ जनालाई परिवारकाे जिम्मा लगाएकाे छ । आश्रमले उद्धारसँगै उपचार, हेरचाह, स्वास्थ्य परामर्श तथा आवश्यक व्यवस्थापन गरी परिवारसँग पुनर्मिलन गराउने कार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।
त्यस्तै आइतबार आश्रमको व्यवस्थापन तथा सेवा सञ्चालनका लागि ३ लाख ८० हजार ५ सय ४५ रुपैयाँ बराबर खर्च भएको छ। उक्त खर्च भोजन, स्वास्थ्य उपचार, औषधि, लत्ताकपडा, सरसफाइ, कर्मचारी व्यवस्थापनलगायत आश्रितहरूको दैनिक आवश्यकतामा खर्च गरिएकाे आश्रमले उल्लेख गरेकाे छ ।
त्यसैगरी आश्रममा रहनुभएका आश्रितहरूका लागि आइतबार बिहान र बेलुका गरी ३३ वटा भोजन सेवा तथा ७ वटा खाजा सेवा सञ्चालन गरिएको थियो। आश्रममा विभिन्न व्यक्ति, संघसंस्था तथा दाताहरूले जन्मदिन, वार्षिकोत्सव, पुण्यतिथिलगायतका विविध अवसर पारेर भोजन तथा खाजा सेवा प्रदान गर्ने गर्दछन् ।
यसैबीच, मानवता अध्ययन तथा सेवा भावनाले प्रेरित भइ आइतबार ३ सय ७१ जनाले आश्रमका विभिन्न शाखाहरुकाे अवलोकन भ्रमण गरेका छन्। अवलोकन भ्रमणका क्रममा आश्रममा सञ्चालित सेवा, उद्धार कार्य, संरक्षण व्यवस्थापन, पारिवारिक पुनर्मिलन तथा मानवता प्रवर्द्धनका बारे जानकारी गराइएको आश्रमले जनाएको छ।
सो क्रममा दाताहरूबाट आश्रमलाई सहयोग बापत १ लाख ३ हजार ९६ रुपैयाँ बराबरका जिन्सी सामग्री समेत प्राप्त भएको छ।
मानवसेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताइरहेका सडक मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै मानवता प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। आश्रमले सहयोग, सहकार्य र स्वयंसेवामार्फत मानवसेवामा हातेमालो गर्न सम्पूर्ण सहयोगी मनहरूलाई आभार व्यक्त गरेकाे छ ।