ललितपुर । पछिल्लो समय मानवता, सेवा र सामाजिक उत्तरदायित्वबारे अध्ययन गर्ने केन्द्रका रूपमा स्थापित हुँदै आएको मानवसेवा आश्रममा अवलोकन तथा भ्रमण गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। आश्रमले सञ्चालन गरिरहेका उद्धार, उपचार, संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलगायत सेवा गतिविधिलाई नजिकबाट बुझ्ने र अनुभव गर्ने उद्देश्यले विभिन्न विद्यालय, कलेज, संघसंस्था तथा सर्वसाधारण आश्रम भ्रमणका लागि आउने गरेका छन्।
आश्रमकाअनुसार पछिल्लो समय साना बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकले दैनिक रुपमा ४ सयदेखि ७ सयकाे सङ्ख्यामा आश्रम अवलोकन गरिरहेका छन् ।आश्रम भ्रमणका क्रममा आगन्तुकहरूले आश्रमको दैनिक सेवा गतिविधि, आश्रितहरूको जीवनयापन, भोजनसेवा व्यवस्थापन, स्वास्थ्य उपचार, सरसफाइ, पुनर्मिलन प्रक्रिया तथा आश्रमको समग्र व्यवस्थापनबारे जानकारी लिने गरेका छन्। यसले समाजमा मानवता, सेवा भावना र सामाजिक उत्तरदायित्वबारे सकारात्मक सन्देश फैलिनुका साथै सहयोग गर्ने भावना समेत अभिवृद्धि हुँदै गएको आश्रमको भनाइ छ।
आश्रम भ्रमण मात्र उद्देश्य नराखी मनकारी दाताहरूले जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्यतिथि, स्मृति दिवस लगायत विभिन्न अवसरमा आफ्नो गक्ष्यअनुसार नगद,लत्ताकपडा, सरसफाइ सामग्री तथा भोजनसेवाका लागि खाद्य सामग्री सहयोग प्रदान गर्दै आश्रमको अभियानमा सरिक भई मानवता प्रवर्द्धनमा हातेमालो गरिरहेका छन्।
सोही क्रममा बुधबार ललितपुर महानगरपालिका–१३ स्थित श्री माछापुच्छ्रे आइबी वल्र्ड स्कूलका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले मानवसेवा आश्रम ललितपुर शाखामा अवलोकन भ्रमण गरेका छन्। विद्यार्थीहरूले आश्रमको सेवा, व्यवस्थापन तथा आश्रितहरूको जीवनशैलीबारे जानकारी लिनुका साथै आश्रम परिसरको अवलोकन गरेका थिए। अवलोकनका क्रममा विद्यार्थीहरूले आश्रमको संरक्षणमा रहनुभएका आश्रितहरूका लागि खाद्य सामग्री सहयोग समेत प्रदान गरेका थिए।
आश्रमले अवलोकनका लागि आउनुभएका विद्यार्थी तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै यस्ता भ्रमणले बालबालिकामा सानैदेखि सेवा भावना, मानवता र करुणा र सामाजिक जिम्मेवारीको भावना विकास हुने विश्वास लिएकाे छ।
साथै आश्रमले मानवता प्रवर्द्धन र सहयोगापेक्षी सडकआश्रित मानवहरूको सेवा अभियानमा सबैकाे साथ, सहयोग र सहभागिता अपरिहार्य रहेकाे उल्लेख गरेकाे छ ।