पोखरा । मानवसेवा आश्रमले पोखरास्थित हेम्जा शाखकाे निर्माणाधीन अवस्थामा रहेको भनवकाे सम्पन्नताका लागि श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ।
महायज्ञ आयोजना सम्बन्धमा सोमबार आश्रम परिसरमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू सहित आश्रमका अभिभावकहरूबीच विचारविमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महायज्ञलाई व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्ने विषयमा विभिन्न पक्षहरूमा छलफल गरिएको थियो। महायज्ञ व्यवस्थापन, प्रचार–प्रसार, सहयोग संकलन, स्वयंसेवक परिचालन लगायतका विषयमा समेत छलफल भएको आश्रमले जनाएकाे छ ।
महायज्ञ आश्रमकाे प्राङ्गणमा आगामी बैशाख १९ गतेदेखि २६ सम्म सञ्चालन हुनेछ। महायज्ञमार्फत हेम्जा शाखाकाे भवनकाे पूर्णता र लक्ष्मीनारायण मन्दिरकाे प्राण प्रतिष्ठा गर्ने, आश्रमको दीर्घकालीन सेवा सञ्चालनका लागि अक्षयकोष वृद्धि गर्ने तथा मुक्तिनाथ धर्मशाला निर्माण गर्ने लक्ष्य राखिएको छ। आश्रमले मानवीय सेवासँगै धार्मिक तथा आध्यात्मिक गतिविधिलाई पनि जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ।
मानवसेवा आश्रमले विगत लामो समयदेखि बेवारिसे, असहाय, अशक्त, मानसिक तथा शारीरिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन जस्ता सेवा कार्यलाई निरन्तरता दिँदै आएको छ। आश्रममा आश्रित व्यक्तिहरूको सेवा, भोजन, उपचार तथा दैनिक व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक पर्ने भएकाले दीर्घकालीन रूपमा सेवा सञ्चालन गर्न अक्षयकोषको व्यवस्था गर्न आवश्यक रहेको समेत महायज्ञ सञ्चालन गर्न लागिएकाे हाे । साथै आश्रमले महायज्ञलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा समेत गरेको छ।