काठमाडौँ । मानवसेवा आश्रमले चैत महिनाको पहिलो सातामा देशका विभिन्न स्थानबाट अलपत्र अवस्थामा रहेका २५ जना बेवारिसे तथा असहाय नागरिकहरूको उद्धार गरेको छ भने १२ जनालाई परिवारको सम्पर्कमा ल्याई पुनर्मिलन गराएको जानकारी दिएकाे छ ।
आश्रमले सडकपेटी, मन्दिर परिसर, बसपार्क, बजार क्षेत्रलगायत विभिन्न सार्वजनिक स्थानमा बेवारिसे, अशक्त, मानसिक सन्तुलन गुमाएका तथा परिवारबाट टाढिएका अवस्थामा भेटिएका व्यक्तिहरूको उद्धार गरी आश्रममा संरक्षण, उपचारसँगै आवश्यक हेरचाहको व्यवस्था गरेकाे छ।
साे अवधिमा उद्धार गरिएका मध्ये परिवारको विवरण खुलेका तथा आफन्तसँग सम्पर्क स्थापित भएका १२ जनालाई आवश्यक समन्वय र प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाई पुनर्मिलन गराइएको आश्रमले जनाएको छ। साथै उद्धार भएका अन्य व्यक्तिहरूको भने परिवार खोजी कार्य जारी रहेको छ।
मानवसेवा आश्रमले विगत केही वर्षदेखि सडक आश्रित, बेवारिसे, असहाय तथा मानसिक रोगी व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आश्रमले यस वर्ष “सहयाेगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल” घाेषणाका लागि उद्धार अभियान देशका विभिन्न जिल्लामा शाखा सेवा विस्तार सेवा प्रदान गरिरहेकाे छ ।