हेटौँडा । मानवसेवा आश्रमलाई शनिबार एकैदिन ७ लाख ११ हजार ८ सय ६२ रुपैयाँ सेवा सहयोग प्राप्त भएको छ। उक्त सहयोग आश्रममा आश्रित सहयोगापेक्षी मानवहरूको भोजन, स्वास्थ्य, सरसफाइ, उद्धार तथा दैनिक व्यवस्थापनका कार्यमा उपयोग हुने जनाइएको छ।

शनिबार आश्रम सञ्चालन तथा व्यवस्थापनतर्फ १ लाख ३४ हजार ३ सय ७१ रुपैयाँ बराबरको खर्च भएकाे आश्रमकाे आर्थिक विवरणमा उल्लेख गरिएकाे छ । सोही दिन आश्रममा ३५ वटा भोजन सेवा र ११ वटा खाजा सेवा सम्पन्न भएका छन्, जसबाट आश्रममा आश्रित आमाबुबा तथा लालबालिकाहरू लाभान्वित भएका छन्।

यसैबीच सडकमा अलपत्र अवस्थामा रहेका २ जना सडकआश्रित महिलाको उद्धार गरी आश्रममा सुरक्षित आश्रय प्रदान गरिएको छ। मानवसेवा आश्रमले देशका विभिन्न स्थानबाट सहयोगापेक्षी, असहाय, बेवारिसे तथा सडक आश्रित मानवहरूको उद्धार कार्य निरन्तर सञ्चालन गर्दै आएको छ।
शनिबार ४ सय २८ जना मानवताप्रेमी सहयोगी मनहरूले आश्रमका विभिन्न शाखाहरुकाे अवलोकन गरेका हुन् । अवलोकनका क्रममा दाताहरुले आश्रममा सञ्चालन भइरहेका सेवा, उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनाका गतिविधिबारे जानकारी लिएका थिए ।
त्यसैगरी आश्रमलाई सहयोग स्वरूप २ लाख ३० हजार २ सय २५ रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री समेत प्राप्त भएको आश्रमले जनाएकाे छ।

आश्रमले सहयोग गर्ने सम्पूर्ण दाता, सहयोगी संस्था, स्वयंसेवक तथा सेवामा साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण, पारिवारिक पुनर्मिलनको सेवा निरन्तर सञ्चालन गर्दै आएको छ।