काठमाडौँ। मानवसेवा आश्रमका विभिन्न शाखाहरूले बिहीबार ५ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गर्नुका साथै ४ जना आश्रितको सफल पारिवारिक पुनर्मिलन गराएका छन्। उद्धार हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् ।
सोही दिन मनकारी दाताहरूबाट सेवा सहजीकरणका लागि कुल ९ लाख ६१ हजार ६ सय ८७ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। यसैबीच, आश्रमको संरक्षणमा रहेका आश्रितहरूको सेवा व्यवस्थापनका लागि ४ लाख २ सय ७० रुपैयाँ बराबरकाे खर्च भएकाे आश्रममकाे आर्थिक विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी, आश्रमका विभिन्न शाखाहरूमा बिहान र बेलुका गरी ४८ वटा भोजन सेवा तथा २१ वटा खाजा सेवा सम्पन्न भएका छन्।
बिहीबार मात्रै ३ सय ३४ जना मानवताप्रेमी दाताहरूले आश्रमको अवलोकन भ्रमण गरेका छन्। अवलोकनका क्रममा दाताहरूबाट २ लाख ७६ हजार ३ सय ४६ रुपैयाँ बराबरका जिन्सी सामग्री सहयोगस्वरूप प्राप्त भएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले देशभर सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताइरहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको अभियानलाई निरन्तरता दिँदै आएको छ।
दाताहरुकाे गरेकाे सहयोग र सहभागिताले आश्रमको सेवा दैनिकीलाई अझै सशक्त, प्रभावकारी र दीगो बनाउँदै लगिएकाे छ ।