काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी तथा घोषणापछिकाे संस्थागत र सामाजिक व्यवस्थापनका विषयमा विचार विमर्श गरिएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँगै अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलमा कार्यवाहक प्रमुख डंगोलले घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न आवश्यक कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
महानगरपालिकाले वि सं २०७४ मंसिर १ गतेदेखि मानवसेवा आश्रमसँग सहकार्य गर्दै सडकआश्रित मानव व्यवस्थापनको कार्य सुरु गरेको हो। महानगर क्षेत्रबाट हालसम्म २ हजार ९१९ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। तीमध्ये ७ सय १३ जनाको पारिवारिक पुनर्मिलन, ३सय ३६ जनाको सामुदायिक पुनर्मिलन गराइएको छ भने ३ सय १५ जनाको मृत्यु भइसकेको छ। हाल २ सय ६८ जना आश्रमको संरक्षणमा रहेकाे जनाइएकाे छ ।
महानगरपालिकाले आश्रमलाई हालसम्म २ करोड ८४ लाख ७३ हजार २३७ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै उद्धार कार्यका लागि आवश्यक सवारी साधनसमेत उपलब्ध गराएको छ। साथै, सहयोगापेक्षी व्यक्तिहरूको पहिचान, व्यवस्थापन तथा उद्धार कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी तथा महानगर प्रहरी बलको सक्रिय समन्वय रहँदै आएको छ।
छलफलमा ‘सडक मानवमुक्त महानगर’ घोषणा पश्चात् उपलब्धिलाई दिगो बनाउन उच्चस्तरीय कार्यदल गठन, सम्पर्क व्यक्ति तोक्ने, संयुक्त उद्धार टोली परिचालन, नियमित अनुगमन, निःशुल्क स्वास्थ्योपचार, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन तथा संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयहरूमा विस्तृत रूपमा विचारविमर्श गरिएको थियो।
छलफलमा बैशाखभित्र घोषणा गर्ने तयारी भइरहेको र यस अभियानलाई सफल बनाउन महानगरवासीको सहयोग आवश्यक भएकाे उल्लेख गरिएको छ।