बागलुङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २५ औँ स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई आवश्यक सामग्री सहयोग प्रदान गरिएको छ ।
शुक्रबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको आयोजनामा तथा प्रतिष्ठानको जिल्ला कार्यसमिति बागलुङ र म्याग्दीको संयुक्त आयोजनामा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न तथा सरसफाई लगायतका अत्यावश्यक समाग्री हस्तान्तरण गरिएको आश्रमले जनाएकाे छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका गण्डकी प्रदेशका संरक्षक चोलेन्द्र पौडेलले सामाजिक क्षेत्रमा समेत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ध्यान दिएको बताउनुभयो ।
उहाँले कलाकारको काम गीत मात्रै गाउने नभएर सामाजिक हिसाबमा समेत सक्रिय रहन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष माया गुरुङ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले मन्तव्य व्यक्त गर्दै मानवीय सेवामा कलाकारहरु समेत लाग्न आवश्यक रहेको बताउनुभयाे । दिवसको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यन्नसँगै सरसफाईका सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रामजी पौडेलको स्वागत मन्तव्य, माया गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेश सचिव कृष्णा सुवेदीको सञ्चालनमा सम्पन्न भएको हाे । कार्यक्रममा रामजी पौडेल, आरजी पण्डित, चेतन गुरुङ, मङ्गल विक, कृष्ण सुवेदी तथा सृजिता नेपाललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका विभिन्न तहका समितिहरूले सेवामूलक कार्यमा हातेमालो गर्दै आश्रमलाई सहयोग पुर्याएकोमा आश्रमले कृतज्ञता व्यक्त गरेको छ।