काठमाडौँ। मानवसेवा आश्रमलाई आइतबार मनकारी दाताहरूको उल्लेखनीय सहयोग प्राप्त भएको छ। आश्रमको संरक्षणमा रहेका आश्रितहरूको सेवा व्यवस्थापन तथा आश्रम सञ्चालनलाई थप सहज बनाउन दाताहरूबाट एकैदिन १० लाख ४३ हजार ८ सय २४ रुपैयाँ सेवा योगदान प्राप्त भएको आश्रमले जनाएको छ।
देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका आश्रमका शाखाकाे संरक्षणमा रहनुभएका मानवहरूको संरक्षण, भोजन, स्वास्थ्य उपचार तथा अन्य आवश्यक सेवा व्यवस्थापनका लागि दाताहरूले निरन्तर आर्थिक तथा जिन्सी सहयोग प्रदान गर्दै आइरहेका छन्। यस्ता सहयोगले सडकबाट उद्धार गरिएका मानवहरूको जीवनलाई सुरक्षित र सम्मानजनक बनाउन ठूलो टेवा पुग्ने विश्वास गरिएकाे छ ।
आश्रमको संरक्षणमा रहेका २ हजार २ जना आश्रितहरूको सेवा सहजीकरणका लागि आइतबार १ लाख ५९ हजार ४ सय ९८ रुपैयाँ बराबर खर्च भएको आश्रमले जनाएको छ। त्यसैगरी आइतबार आश्रममा बिहान र बेलुका गरी ३४ वटा भोजन सेवा तथा ११ वटा खाजा सेवा सम्पन्न भएका छन्। दाताहरुले विभिन्न अवसर, जन्मदिन, स्मृतिदिवस तथा धार्मिक कार्यक्रमका अवसरमाआश्रममा भोजन तथा खाजा सेवा प्रदान गर्दै आएका छन्।
सोही दिन आश्रम अवलोकन तथा सामाजिक सेवाप्रति चासो राख्दै ४ सय ५ जनाले आश्रमको भ्रमण गरेका छन्। भ्रमणका क्रममा आगन्तुकहरूले आश्रमको सेवा कार्य, उद्धार अभियान तथा आश्रितहरूको अवस्था बारे जानकारी लिएका थिए।
यसैबीच दाताहरूबाट आश्रमलाई १ लाख ८६ हजार ३ सय ६५ रुपैयाँ बराबरका विभिन्न जिन्सी सामग्री समेत प्राप्त भएको छ। प्राप्त सामग्रीहरू आश्रममा आश्रितहरूको दैनिक आवश्यकतामा प्रयोग गरिने आश्रमले जनाएको छ।
त्यस्तै आश्रमले विभिन्न शाखामार्फत देशका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा सडकमा कष्टकर जीवन बिताइरहेका ६ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ। यसैक्रममा परिवारको खोजी तथा समन्वय गरी ४ जना आश्रितकाे पारिवारिक पुनर्मिलन गरिएकाे छ ।
समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सहकार्यका कारण यस्तो मानवीय सेवा अभियान निरन्तर रुपमा अघि बढिरहेको आश्रमले जनाएको छ।