काठमाडौँ । आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरुकाे सेवामा समर्पित मानवसेवा आश्रमले फाल्गुन तेस्रो सातामा २१ जना सडक मानवहरूको उद्धार गरेको छ ।
उद्धार गरिएका व्यक्तिहरूमध्ये ११ जना पुरुष र १० जना महिला रहेका छन्। देशका विभिन्न स्थानका खुला सडकपेटी तथा सार्वजनिक स्थलमा जोखिमपूर्ण अवस्थाहरूमा फेला परेका व्यक्तिहरुलाई प्रहरी प्रशासनसँगै स्थानीयकाे पहलमा उद्धार गरी संरक्षणमा राखिएकाे आश्रमले जनाएको छ।
आश्रमले उपाचारपछि स्वास्थ्य अवस्था सामान्य भएका व्यक्तिहरुकाे पारिवारिक पृष्ठभूमि पहिचान गरी सम्भव हुनेहरुकाे पारिवारिक पुनर्मिलन समेत गर्दै आइरहेकाे छ ।
यसै क्रममा फागुनको तेस्रो साताकाे अवधिमा मात्रै २२ जना आश्रितहरूलाई परिवार खाेजी परिवारसँग पुनर्मिलन गराउन आश्रम सफल भएको जनाएको छ। लामो समयदेखि परिवारबाट टाढा रहँदै आएका व्यक्तिहरूलाई आफन्तसँग पुनर्मिलन गराउन सक्नु पनि आश्रमका लागि अर्काे महत्वपूर्ण उपलब्धि हाे ।
मानवसेवा आश्रमले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत खुला सडकपेटी, मठ–मन्दिर परिसर, बसपार्क, बजार क्षेत्र तथा अन्य सार्वजनिक स्थानहरूमा कष्टपूर्ण जीवन बिताइरहेका असहाय, बेसहारा, अशक्त व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनका कार्यहरू निरन्तर गर्दै आइरहेको छ।