काठमाडौँ । मानवीयको सेवामा निरन्तर सक्रिय रहँदै आएको मानवसेवा आश्रमलाई बिहीबार मनकारी दाताहरूबाट १६ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ । प्राप्त सहयोगले विभिन्न शाखाकाे संरक्षणमा रहनुभएका आश्रितहरूको दैनिक भोजन, स्वास्थ्य उपचार, आवास तथा आवश्यक सेवा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको आश्रमले जनाएको छ ।
सोही दिन आश्रमको सेवा व्यवस्थापनअन्तर्गत ३ लाख ८८ हजार ७ सय १४ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । देशभर सञ्चालनमा रहेका शाखाहरूमा बिहीबार मात्रै ४३ वटा भोजनसेवा तथा ८ वटा खाजासेवा सम्पन्न भएका छन् । विभिन्न क्षेत्रबाट ३ सय ७ जना शुभेच्छुक, विद्यार्थी तथा सर्वसाधारणले आश्रमको अवलोकन भ्रमण गरेका छन् ।
यसैबीच, आश्रमको सेवामा प्रत्यक्ष सहभागी हुँदै १ लाख ८० हजार २ सय ४९ रुपैयाँ बराबरका जिन्सी सामग्रीसमेत सहयोगस्वरूप प्राप्त भएको छ । खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीको उक्त सहयोगले आश्रितहरूको जीवनयापन सहज बनाउन थप बल पुगेको छ ।तीन तहका सरकारको आंशिक सहयोग, देश–विदेशमा रहनुभएका नेपाली मनकारी दाताहरूको निरन्तर साथ र सद्भावका कारण आश्रमले हालसम्म २९ वटा शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको छ ।
वि.संं २०८२ सालभित्र ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश नेपाल’ घोषणा गर्ने लक्ष्यसहित अघि बढिरहेको आश्रम खुला आकाशमुनि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक एवं मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण, पालनपोषण तथा पारिवारिक पुनर्मिलनमा समर्पित रहँदै आएको छ ।