बुटवल । राष्ट्रिय परोपकार महासंघले बुटवल-१५, सेमलारमा परोपकार कुञ्जधाम विस्तारका लागि आयोजना गरेको ‘श्रीमद्भागवत धन–धान्याचल ज्ञान–महायज्ञ २०८२’ आज पनि जारी रहेको छ। हिजो उद्घाटन भएको महायज्ञमा श्रद्धालु भक्तजनहरू र समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

आज महायज्ञको कथा वाचनको पहिलो दिन रहेको छ। कथा वाचन राष्ट्रिय परोपकार महासंघका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष, भागवत् भास्कर कमलनयन गौतमले गरिरहनुभएकाे छ । गुरूद्वारा दैनिक रूपमा संगीतमय शैलीमा श्रीमद्भागवत कथा वाचन भइरहेको छ, जसले उपस्थित श्रद्धालुमा धार्मिक भक्ति र सेवा भाव अभिवृद्धि गराइरहेको छ।

महायज्ञ अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। दैनिक रूपमा योग शिविर, विद्यार्थी केन्द्रित ज्ञानमाला, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, आरती तथा प्रसाद वितरण लगायतका कार्यक्रमहरू जारी रहेका छन्। कार्यक्रममार्फत श्रद्धालु तथा सहभागीहरूमा समाजिक सद्भाव, सेवा भावना र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्य रहेकाे छ ।
महायज्ञबाट संकलित रकमले परोपकार कुञ्जधामको निर्माण र विस्तारमा सहयोग पुग्नेछ भने यसरी संकलित रकमले धार्मिक, सामाजिक र परोपकारी कार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने आयोजकले जनाएका छन् ।

महायज्ञ फागुन १३ गतेसम्म सञ्चालन हुने भएकोले यस अवधिमा अझै धेरै श्रद्धालु, दातृवर्ग र समाजसेवीहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ। यस पूर्ण पुण्यकार्यमा सहभागी भई तन, मन र धनको त्रिवेणीबाट सहयोग पुर्याएर पुण्यको लाभ लिन सबै श्रद्धालु, दातृवर्ग र शुभेच्छुकहरूलाई महासंघले हार्दिक आग्रह गरेको छ।

यो महायज्ञले समाजमा सेवा भाव अभिवृद्धि गर्नु, सकारात्मक ऊर्जा प्रवाह गर्नु र परोपकार कुञ्जधामको निर्माणमार्फत धार्मिक तथा सामाजिक कार्यलाई सशक्त बनाउन विशेष योगदान पुग्ने विश्वास गरिएकाे छ ।