बुटवल । राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा ‘श्रीमद्भागवत धन–धान्याचल ज्ञान–महायज्ञ २०८२’ आजदेखि विधिवत रूपमा सुरु भएको छ। बुटवल उपमहानगरपालिका–१५, सेमलारस्थित परोपकार कुञ्ज धाम निर्माण तथा विस्तारको उद्देश्यले आयोजना गरिएको महायज्ञकाे बुधबार विशेष कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
उद्घाटनपूर्व महायज्ञमा शोभाकलश यात्रा आयोजना गरिएको थियो। महासंघले शोभाकलश यात्रामा सहभागी उत्कृष्ट चार समूहलाई नगद राशी र प्रमाणपत्रसहित सम्मान गरेकाे छ । उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय सहित स्थानीय जनप्रतिनिधि, श्रद्धालु भक्तजन, परोपकारी दाता, समाजसेवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महायज्ञको समग्र नेतृत्व महासंघका संरक्षक कमलनयन गौतमले गर्नुभएको हो भने भाेलिदेखि बिहान ११ बजेदेखि ४ बजेसम्म उहाँको मुखारविन्दबाट संगीतमय शैलीमा श्रीमद्भागवत कथावाचन हुने कार्यक्रम रहेको छ।

महायज्ञलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न १००८ सदस्यीय मूल आयोजक समिति, २७ सदस्यीय उपसमिति तथा १७ सदस्यीय सचिवालय समिति गठन गरिएको छ। महायज्ञका सारथी हरिध्वज मल्ल तथा संयोजक डिल्लीराज भण्डारी रहनुभएको छ भने उहाँहरूको नेतृत्वमा सम्पूर्ण व्यवस्थापन कार्य अघि बढाइएको आयोजकले जनाएको छ।
फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने महायज्ञ अवधिभर दैनिक योग शिविर, ज्ञानमाला कार्यक्रम, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, आरती तथा प्रसाद वितरणलगायत विविध धार्मिक कार्यक्रम सञ्चालन गरिनेछन्। समाजमा सेवा भावना अभिवृद्धि गर्नु, सकारात्मक ऊर्जा प्रवाह गर्नु तथा परोपकार कुञ्ज धाम निर्माणका लागि आवश्यक स्रोत संकलन गर्नु महायज्ञको प्रमुख उद्देश्य रहेको छ।

अघिल्लो वर्ष सम्पन्न महायज्ञबाट १ करोड ८५ लाख ९ हजार ५ सय ९२ रुपैयाँ संकलन भएको थियो। यस वर्ष पनि कुञ्ज धाम विस्तारका लागि व्यापक सहभागिता र सहयोग प्राप्त हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।