काठमाडौँ । मानवसेवा आश्रमले फाल्गुन ३ गतेदेखि सुरु गरेको ‘कोशी प्रदेश सहयोगापेक्षी सडकमानव उद्धार यात्रा–२०८२’ अन्तर्गत २ जना सडकआश्रित व्यक्तिको उद्धार गर्न सफल भएको छ।
उद्धार यात्राको दोस्रो दिन सोमबार सप्तरी घर बताउने अन्दाजी ५५ वर्षीय सन्तोष आनन्दलाई इलाम नगरपालिका–१० स्थित प्रतीक्षालयमा विगत ६ महिनादेखि बेवारिसे अवस्थामा जीवनयापन गरिरहेको अवस्थामा भेटाएपछि उद्धार गरिएकाे आश्रमले जनाएको छ।

त्यस्तै यात्राको पहिलो दिन मेचीनगर नगरपालिका–१५ मा बेवारिसे अवस्थामा भेटिएका ६८ वर्षीय पूर्णबहादुर भट्टराईको पनि उद्धार गरिएको थियो।

फाल्गुन १६ गतेसम्म सञ्चालन हुने उक्त यात्राअन्तर्गत कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा उद्धार यात्रा जारी हुनेछ ।
आश्रमले उद्धार यात्रामार्फत स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायासँग समन्वय गर्दै खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेका वास्तविक सहयोग आवश्यक परेका व्यक्तिहरूलाई उद्धार गरी संरक्षण प्रदान गरिरहेकाे छ ।
साथै,आश्रमले कोशी प्रदेशमा सहयोगापेक्षी सडकआश्रित व्यक्ति देखिएमा आश्रमकाे उद्धार टोलीलाई जानकारी गराइदिन सबैमा आग्रह गरेको छ।