पोखरा । ४८ वर्षीय टेक बहादुर पुनलाई मानवसेवा आश्रमले बागलुङ शाखाले असार २ गते बागलुङ नगरपालिका–३ हलनचाेक क्षेत्रबाट उद्धार गरेको थियो। मानसिक समस्याबाट ग्रसित उनी पुरुष भए पनि महिलाकाे पहिरनकाे पहिरनमा बेवारिसे अवस्थामा रहेका कारण पारिवारिक विवरण स्पष्ट रूपमा बताउन नसक्ने अवस्थामा थिएनन् ।
उनको अवस्था जटिल देखिएपछि थप उपचार, स्याहार–सुसार र सुरक्षित वातावरणको आवश्यकता महसुस गर्दै आश्रमले उनलाई बागलुङबाट हेम्जा शाखामा स्थानान्तरण गरेको थियो। नियमित औषधि उपचार, मनोसामाजिक परामर्श र पारिवारिक वातावरणमा आधारित हेरचाह प्रदान गरियो। आश्रमको निरन्तर माया, साथ र सहयोगले विस्तारै उनको स्वास्थ्य अवस्थामा सुधार आउन थाल्यो।
लगातार ८ महिनाको प्रयासपछि उनको मानसिक अवस्थामा उल्लेखनीय सुधार आएसँगै उनकाे पारिवारिक पृष्ठभूमि पहिचान भयाे । अन्ततः ८ महिनापछि टेकबहादुर पुन आफ्नाे घर फर्किन सफल भएका छन् । लामो समयपछि भएको पुनर्मिलनले परिवारले आश्रमप्रति आभार व्यक्त गरेकाे छ ।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण विषय हुँदा समाजमा अझै मानसिक रोगप्रति चेतनाको कमी र लाञ्छना विद्यमान रहेता पनि समयमै उचित उपचार, माया र सहयोग पाएमा जीवन पुनः सामान्य र सम्मानित बन्न सक्छ भन्ने उदाहरण टेकबहादुर पुन जीवनबाट प्रष्ट हुन्छ ।
मानवसेवा आश्रमले सडकमा अलपत्र परेका, परिवारबाट टाढिएका तथा मानसिक तथा शारीरिक समस्याबाट ग्रसित व्यक्तिहरूलाई उद्धार, उपचार र पुनर्स्थापनामार्फत सम्मानजनक जीवनतर्फ फर्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।