काठमाडौँ । मानवसेवा आश्रमले आजदेखि ‘कोशी प्रदेश सहयोगापेक्षी सडकमानव उद्धार यात्रा–२०८२’ सुरु गरेको छ। अभियानको पहिलो दिन झापास्थित मेचीनगर नगरपालिका-१५ मा बेवारिसे अवस्थामा भेटिएका ६८ वर्षीय पूर्णबहादुर भट्टराईको उद्धार गरिएको आश्रमले जनाएको छ।

फाल्गुन १६ गतेसम्म सञ्चालन हुने उक्त यात्राअन्तर्गत कोशी प्रदेशका हिमाली तथा पहाडी १० जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा उद्धार अभियान सञ्चालन हुनेछ ।

आश्रमले उद्धार यात्रामार्फत खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको पहिचान गरी उद्धार तथा संरक्षण गरिनेछ। स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै वास्तविक सहयोग आवश्यक परेका व्यक्तिहरूलाई सुरक्षित रूपमा आश्रमको संरक्षणमा राखिनेछ।
साथै आश्रमले कोशी प्रदेशमा सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरू देखिएमा नजिकको आश्रम शाखा वा उद्धार टोलीलाई जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ। मानवसेवा आश्रम सडकपेटी तथा सार्वजनिक स्थलमा अलपत्र अवस्थामा रहेका असहाय, बेसहारा, अशक्त तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलन सेवामा समर्पित गैरनाफामूलक सामाजिक संस्था हो।