काठमाडाैँ । मानवसेवा आश्रमले भोलिदेखि ‘कोशी प्रदेश सहयोगापेक्षी सडकमानव उद्धार यात्रा – २०८२’ सञ्चालन गर्ने भएको छ। फाल्गुन ३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त यात्राअन्तर्गत कोशी प्रदेशका हिमाली तथा पहाडी १० जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा उद्धार अभियान सञ्चालन गरिनेछ।
आश्रमकाअनुसार यात्रामार्फत खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी सडकमानवहरूको पहिचार गरी उद्धार तथा संरक्षण गरिनेछ। आश्रमले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्दै वास्तविक सहयोग आवश्यक परेका व्यक्तिहरूलाई उद्धार गरी संरक्षणमा राख्ने जनाएकाे छ ।
सडकमानवहरूकाे सेवामा समर्पित यस अभियानले सडकआश्रित जीवनको अन्त्य गर्दै सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने लक्ष्य आश्रमले राखेको छ। साथै, आश्रमले सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरू देखिएमा नजिकको आश्रम वा उद्धार टोलीलाई खबर गरिदिन सबैमा अनुरोध गरेको छ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि सडकपेटी तथा सार्वजनिक स्थलमा अलपत्र अवस्थामा रहेका असहाय, बेसहारा, अशक्त तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवामा समर्पित गैरनाफामुलक सामजिक संस्था हाे ।
मानवताको यात्रामा निरन्तर अघि बढिरहेको आश्रमले यस अभियानमार्फत वि.सं. २०८२ सालभित्र नेपाललाई सहयाेगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरिरहेकाे छ । मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।